काठमाडौं । नेपाल टेलिकमले यात्रु तथा घुमफिर गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ ‘घुमन्ते डेटा प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले सस्तो मूल्यमा बढी डेटा उपलब्ध गराउने उद्देश्यसहित उक्त प्याक ल्याएको जनाएको छ।
नेपाल टेलिकमका अनुसार यो प्याक अन्तर्गत ग्राहकले ७ दिनका लागि २० जीबी डेटा मात्र १९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। विशेषगरी घुमफिर, ट्रेकिङ तथा बाहिरी गतिविधिमा सक्रिय प्रयोगकर्तालाई लक्षित गरी यो सेवा ल्याइएको हो।
कम्पनीले ‘जहाँ जानुहोस्, घुमन्तेसँगै कनेक्टेड रहनुहोस्’ भन्ने सन्देशसहित यो प्याक प्रवर्द्धन गरिरहेको छ। इन्टरनेटको आवश्यकता बढ्दै गएको वर्तमान समयमा यस्तो अफरले प्रयोगकर्तालाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।



उक्त डेटा प्याक ग्राहकले आफ्नो मोबाइलबाट *1415*5# डायल गरेर सक्रिय गर्न सक्नेछन्। साथै, नेपाल टेलिकमको आधिकारिक NT App मार्फत पनि सजिलै सब्सक्राइब गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले समयानुकूल विभिन्न डेटा प्याक ल्याउँदै आएको छ र यो ‘घुमन्ते डेटा प्याक’ पनि ग्राहकको आवश्यकता अनुसार उपयोगी हुने अपेक्षा गरिएको छ।


















