चेन्नई । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्री भवानी भल्मा एकता समाज, सायल गाउँपालिका-४, भल्मा, डोटी (तामिलनाडु-भारत) ले बाढीपहिरो पीडित तथा प्रभावित परिवारका लागि राहत सहयोग संकलन गरेको छ।
हरितालिका तीजको अवसरमा भदौ २९ गते तामिलनाडुमा आयोजित तीज कार्यक्रमसँगै समाजले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन तथा मौनधारण गरेको थियो। सोही अवसरमा पीडित तथा प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो।
समाजका अनुसार उक्त अभियानबाट रु. ७३,५०७ संकलन भएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राहत सहयोग स्वरूप पठाइएको समाजले जनाएको छ।




विपद्को समयमा मानवीय सहयोग जुटाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगदाता तथा शुभेच्छुकहरूप्रति समाजले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजले विपद्को समयमा पीडितहरूको साथमा उभिनु सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै “विपद्मा परेकालाई सहयोग गर्नु नै मानवताको सच्चा धर्म हो” भन्ने सन्देश दिएको छ।
“एकता नै हाम्रो शक्ति, सेवा नै हाम्रो पहिचान” भन्ने मूल भावनाका साथ समाजले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।




















One response to “श्री भवानी भल्मा एकता समाजद्वारा तीजकाे अवसरमा बाढीपिडितलाइ सहयाेग प्रदान”
Thank you ✌️❣️