२०८३ आश्विन ३० शुक्रबार
Search
२०८३ आश्विन ३० शुक्रबार

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार नगद राहत वितरण

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको जनाएको छ।

नेपाल सरकारद्वारा जारी सूचनाअनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को आर्थिक सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँगको समन्वय र सहकार्यमा लाभग्राही पहिचान गरी रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।

सरकारका अनुसार रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ स्थानीय तहका बाढी प्रभावित परिवारले नगद सहायता प्राप्त गरेका छन्। हालसम्म वितरण गरिएको राहत रकम कुल १८ करोड ४८ लाख ६० हजार रुपैयाँ पुगेको छ।

यसैगरी, तथ्यांक प्रमाणीकरण हुन बाँकी रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि आगामी तीन दिनभित्र राहत रकम वितरण गरिसक्ने सरकारको तयारी छ।

गत असोज २३ गते केन्द्र तथा तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरूको संयुक्त बैठकले विपद् प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको थियो।

नेपाल रेडक्रसलगायत अन्य विकास साझेदार संस्थाहरूले समेत नगद सहयोग उपलब्ध गराउन इच्छा देखाएकाले राहत वितरणलाई थप व्यवस्थित बनाउने सरकारको योजना छ।

सरकारले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार कुनै पनि प्रभावित परिवार राहतबाट वञ्चित नहुने र एउटै परिवारले दोहोरो सहायता नपाउने गरी राहत वितरण गर्न स्थानीय तह तथा सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

यसका साथै बाढीबाट प्रभावित परिवारहरूको दीर्घकालीन पुनर्स्थापना, पुनर्निर्माण तथा व्यवस्थापनका कामलाई समेत तीव्रता दिइएको सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।