दाङ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि रोल्पा इरिबाङ सेवा समाज, दाङले आयोजना गर्न लागेको बाह्रभदौ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
समाजले जारी गरेको सूचनामा देश नै गहिरो शोकमा डुबेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको छ। समाजले यसअघि “परम्परा, संस्कार र संस्कृतिको संरक्षण : रोल्पा इरिबाङ सेवा समाजको अभियान” भन्ने मूल नारासहित यस वर्षको घुस्रान्ति तथा बाह्रभदे कार्यक्रमको तयारी गरेको थियो।
रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै समाजले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी तथा प्रभावकारी उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।



समाजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवार तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगमा जुट्न सबैमा अपिल समेत गरेको छ।
समाजको कार्यसमिति बैठकले भोलि आयोजना हुने भनिएको बाह्रभदे कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा स्थगित गर्ने निर्णय गरेको हो। देश गहिरो पीडामा रहेका बेला उत्सव मनाउनु उपयुक्त नहुने भन्दै समाजले कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ।


















