चेन्नई । चेन्नई नेपाली प्रवासी कल्याण संघले भदाै २९ गते (सेप्टेम्बर 14 तारिखमा) हरितालिका तीज भब्य रुपमा सम्पन्न गर्ने भएकाे छ । नेपालमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि देश शोकमा डुबिरहेका बेला चेन्नई नेपाली प्रवासी कल्याण संघले पूर्वनिर्धारित तीज कार्यक्रमलाई राहत तथा सामाजिक सेवासँग जोडेर निरन्तरता दिने निर्णय गरेको छ।
देशमा विपत्ति आएका कारण तीज कार्यक्रम आयोजना गर्ने वा रद्द गर्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेकाले कार्यक्रम रद्द गर्नुको सट्टा त्यसलाई बाढीपीडितको सहयोग अभियानसँग जोड्ने निर्णय गरिएको संघले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि हल बुकिङ, कलाकार तथा अन्य व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। हलको पूर्ण भुक्तानीसमेत भइसकेकाले कार्यक्रम रद्द गर्दा उक्त रकम फिर्ता नआउने अवस्था रहेको बताइएको छ। त्यस्तै, चर्चित नेपाली कलाकार प्रकाश सपूतको प्रस्तुति रहने कार्यक्रमका लागि टिकटसमेत बुक भइसकेकाले कार्यक्रम रद्द गर्दा ठूलो आर्थिक क्षति हुने आयोजकहरूको भनाइ छ।



तर, विपत्तिको अवस्थामा कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी मानवीय सेवासँग जोड्ने निर्णय गरिएको छ। संघले कार्यक्रमबाट संकलन हुने रकममध्ये ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडितको सहयोगमा समर्पित गर्ने प्रतिबद्धता जनाएको छ।
आयोजकहरूले देश शोकमा रहेका बेला आफूहरू केवल उत्सव मनाउने पक्षमा नरहेको बताउँदै पूर्वतयारी पूरा भइसकेको कार्यक्रमलाई नै विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोगमा जोड्न चाहेको बताएका छन्।
‘देशमा आएको शोकलाई शक्तिमा बदलौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै विपत्तिको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिने आयोजकहरूको विश्वास छ।
संघले कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली समुदायलाई बाढीपीडितप्रति सहानुभूति व्यक्त गर्दै कार्यक्रमलाई सहयोग तथा राहत अभियानका रूपमा लिन र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।
विपत्तिको समयमा कार्यक्रम पूर्ण रूपमा रद्द गर्नुको सट्टा त्यसबाट प्राप्त आम्दानीको ठूलो हिस्सा राहत कार्यमा समर्पित गर्ने निर्णयले नेपाली एकता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


















