
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूले दुई करोडभन्दा बढी रकम सहयोग गरेका छन्।
नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट संकलित रु. २,०२,२६,०६६ (दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
आज भदौ २२ गते नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
बाढीका कारण प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा आगामी पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूबाट उक्त रकम प्रदान गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्ने जनाएको छ। कम्पनीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
चेन्नई । चेन्नई नेपाली प्रवासी कल्याण संघले भदाै २९ गते (सेप्टेम्बर 14 तारिखमा) हरितालिका तीज भब्य रुपमा सम्पन्न गर्ने भएकाे छ । नेपालमा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि देश शोकमा डुबिरहेका बेला चेन्नई नेपाली प्रवासी कल्याण संघले पूर्वनिर्धारित तीज कार्यक्रमलाई राहत तथा सामाजिक सेवासँग जोडेर निरन्तरता दिने निर्णय गरेको छ।
देशमा विपत्ति आएका कारण तीज कार्यक्रम आयोजना गर्ने वा रद्द गर्ने विषयमा विभिन्न कोणबाट छलफल भए पनि कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेकाले कार्यक्रम रद्द गर्नुको सट्टा त्यसलाई बाढीपीडितको सहयोग अभियानसँग जोड्ने निर्णय गरिएको संघले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि हल बुकिङ, कलाकार तथा अन्य व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। हलको पूर्ण भुक्तानीसमेत भइसकेकाले कार्यक्रम रद्द गर्दा उक्त रकम फिर्ता नआउने अवस्था रहेको बताइएको छ। त्यस्तै, चर्चित नेपाली कलाकार प्रकाश सपूतको प्रस्तुति रहने कार्यक्रमका लागि टिकटसमेत बुक भइसकेकाले कार्यक्रम रद्द गर्दा ठूलो आर्थिक क्षति हुने आयोजकहरूको भनाइ छ।
तर, विपत्तिको अवस्थामा कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी मानवीय सेवासँग जोड्ने निर्णय गरिएको छ। संघले कार्यक्रमबाट संकलन हुने रकममध्ये ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडितको सहयोगमा समर्पित गर्ने प्रतिबद्धता जनाएको छ।
आयोजकहरूले देश शोकमा रहेका बेला आफूहरू केवल उत्सव मनाउने पक्षमा नरहेको बताउँदै पूर्वतयारी पूरा भइसकेको कार्यक्रमलाई नै विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोगमा जोड्न चाहेको बताएका छन्।
‘देशमा आएको शोकलाई शक्तिमा बदलौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रमले नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै विपत्तिको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश दिने आयोजकहरूको विश्वास छ।
संघले कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली समुदायलाई बाढीपीडितप्रति सहानुभूति व्यक्त गर्दै कार्यक्रमलाई सहयोग तथा राहत अभियानका रूपमा लिन र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।
विपत्तिको समयमा कार्यक्रम पूर्ण रूपमा रद्द गर्नुको सट्टा त्यसबाट प्राप्त आम्दानीको ठूलो हिस्सा राहत कार्यमा समर्पित गर्ने निर्णयले नेपाली एकता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
पर्सा । जबरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका-४ तुलसी बर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भएपछि फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरीले तुलसी बर्वाबाट पक्राउ गरेको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रुपन्देही । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेको सुलभ फार्मेसीका सम्बन्धमा भ्रमपूर्ण प्रचारप्रसार तथा सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय तथा पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार नागरिकको स्वास्थ्यसँग जोडिएका औषधि तथा औषधिजन्य सामग्री सर्वसुलभ रूपमा उपलब्ध गराउनु नगरपालिकाको सामाजिक दायित्व भएको नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाका अनुसार २०८३/०४/२० गते नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा सुलभ फार्मेसीका सम्बन्धमा नगरप्रमुखलाई जोडेर औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बालराम भट्टराईले व्यक्त गरेको गैरजिम्मेवार, भ्रामक तथा तथ्यहीन अभिव्यक्तिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो।
विज्ञप्तिमा सार्वजनिक कार्यक्रम वा संस्थागत निर्णयमाथि प्रश्न उठाउने, आलोचना गर्ने वा सुझाव दिने स्वतन्त्रता सबैलाई भए पनि त्यस्ता अभिव्यक्ति तथ्य, प्रमाण र कानुनी व्यवस्थामा आधारित हुनुपर्ने उल्लेख गरिएको छ। जिम्मेवार व्यक्तिबाट अपुष्ट सूचना तथा अतिरिक्त दाबीमार्फत भ्रम सिर्जना गर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा आएपछि केही औषधि व्यवसायी तथा व्यवसायीसम्बद्ध संस्थाबाट असहमति प्रकट हुनुका साथै फार्मेसीका लागि आवश्यक औषधिको आपूर्तिमा अवरोध सिर्जना गरी सेवा प्रवाह प्रभावित पार्ने प्रयास भएको जनाएको छ।
यस्तो गतिविधिले नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्न सक्ने भन्दै नगरपालिकाले औषधिको नियमित आपूर्ति अवरुद्ध गर्ने, सार्वजनिक स्वास्थ्य सेवामा बाधा पुर्याउने वा सार्वजनिक संस्थाको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले तथ्यहीन तथा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।
नगरपालिकाले औषधि आपूर्तिमा अवरोध सिर्जना गर्ने तथा सेवा प्रवाहमा बाधा पुर्याउने गतिविधिका सम्बन्धमा आवश्यक प्रमाण संकलन गरी सम्बन्धित नियामक निकायसमक्ष पेस गर्ने जनाएको छ। साथै, नागरिकको स्वास्थ्य सेवामा प्रतिकूल असर परेको वा प्रचलित कानुनको उल्लङ्घन भएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाले सुलभ फार्मेसीलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै, यस विषयमा फैलिएका भ्रम तथा अन्योलमा नपरी तिलोत्तमा नगरपालिकाका आधिकारिक सूचना तथा तथ्यमा आधारित जानकारीलाई आधार बनाउन सबैमा आग्रह गरेको छ।
नगरप्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तिको अन्त्यमा नागरिकको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको औषधि आपूर्ति तथा फार्मेसी सञ्चालनमा अनावश्यक अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।





