२०८३ आश्विन ३० शुक्रबार
Search
२०८३ आश्विन ३० शुक्रबार

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई सरकारको निर्देशन : मूल्यसूची अनिवार्य राख्नुपर्ने, सरसफाइमा विशेष ध्यान दिन आग्रह

काठमाडौं । सरकारले देशभरका राजमार्ग तथा राजमार्ग आसपास सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट तथा खाजा घरहरूलाई उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना र सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज २९ गते सार्वजनिक सूचना जारी गर्दै राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको हो।

विभागले राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाजा घरहरूबाट बिक्री–वितरण भइरहेको खाना तथा पेय पदार्थको सरसफाइ, गुणस्तर र मूल्यका विषयमा गुनासो तथा जानकारी प्राप्त भएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै विभागले कानुन विपरीतका कार्य दण्डनीय हुने स्पष्ट पारेको छ।

विभागले होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना, खाजा तथा अन्य वस्तु र सेवाको मूल्यसूची ग्राहकले सहज रूपमा देख्न र बुझ्न सक्ने स्थानमा स्पष्ट रूपमा राख्न निर्देशन दिएको छ।

त्यस्तै, बिक्री गरिने खाद्यवस्तु तथा प्रदान गरिने सेवाको वास्तविक कारोबार मूल्य खुल्ने गरी प्रत्येक ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

खाद्य स्वच्छता र गुणस्तर कायम गर्न खाना तयार गर्ने, भण्डारण गर्ने, पकाउने, बिक्री–वितरण गर्ने तथा सेवा प्रवाह गर्ने सबै चरणमा प्रचलित मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागले आग्रह गरेको छ।

होटल तथा रेस्टुरेन्टका भान्सा घर, भाँडाकुँडा, खानेपानी तथा शौचालय लगायतका स्थानमा आवश्यक सरसफाइ कायम गर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमका अस्वच्छ, दूषित, म्याद गुज्रिएका वा खान अयोग्य खाद्यवस्तु बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ।

विभागले तोकिएको वा प्रचलित कानुनबमोजिम कायम गर्नुपर्ने मूल्य तथा अन्य कानुनी व्यवस्थाको पालना गर्दै ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्नसमेत व्यवसायीलाई सचेत गराएको छ।

निर्देशन उल्लङ्घन गरे कानुनी कारबाही

विभागले जारी सूचनामा प्रचलित कानुन, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड र उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन गर्ने व्यवसायीलाई कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।

राजमार्गमा यात्रा गर्ने यात्रु तथा सर्वसाधारण उपभोक्ताले स्वच्छ, सुरक्षित र उचित मूल्यमा खाना तथा सेवा पाउने वातावरण सुनिश्चित गर्न विभागले व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।