काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। २४ वर्षीय रोहितले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा विवाह गरेका हुन्।
रोहितले बिहीबार सामाजिक सञ्जालमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै आफ्नो विवाहबारे जानकारी दिएका हुन्। उनले सिम्रनसँगको तस्बिर राख्दै सपनाहरू निर्माण गर्ने यात्राका सहयात्री अब जीवनभरका लागि जीवनसाथी बनेको भाव व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ। सधैँभरि सँगै रहने वाचासहित।’
उनको विवाह समारोह थाइल्यान्डको रेयोङ मेरियट रिसोर्ट एन्ड स्पा (Rayong Marriott Resort & Spa) मा आयोजना भएको थियो। समारोहमा परिवारका सदस्य, निकट साथी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सहभागी भएका थिए।



विवाहमा सहभागी हुन नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा पनि थाइल्यान्ड पुगेका थिए। उनीहरूले रोहितको खुसीमा सहभागी हुँदै वैवाहिक समारोहमा साथ दिएका थिए।
२४ वर्षीय पाैडेल नेपाली क्रिकेटका पूर्व कप्तान हुन। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा उनले लुम्बिनी लायन्सकोसमेत कप्तानी गरेका थिए। उनको नेतृत्वमा लुम्बिनी लायन्स फाइनलसम्म पुगेको थियो। फाइनलमा भने टोली सुदूरपश्चिम रोयल्ससँग १० विकेटले पराजित भएको थियो।
क्रिकेट मैदानमा आफ्नो खेल र नेतृत्वमार्फत परिचित रोहितले अब व्यक्तिगत जीवनको नयाँ यात्रा सुरु गरेका छन्। उनको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिकेटप्रेमी तथा शुभचिन्तकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।









