२०८३ मंसिर १३ आईतवार
Search
२०८३ मंसिर १३ आईतवार

काठमाडाैं । नेपाली कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन तथा सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो।

सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसले असहाय नागरिकप्रति सरकारले देखाएको पछिल्लो व्यवहारमा मानवीय संवेदना र करुणाको गम्भीर अभाव देखिएको उल्लेख गरेको छ। राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई सुरक्षित आश्रय दिनु राज्यको दायित्व भएको कांग्रेसको भनाइ छ।

होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिई विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ।

‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसले भनेको छ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय तथा दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।

 

निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

यसैबीच, नेपाली कांग्रेसले होल्डिङ सेन्टरसम्बन्धी समन्वय तथा सहजीकरणका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ र प्रबल थापा रहेका छन्। समितिलाई होल्डिङ सेन्टरसम्बन्धी आवश्यक समन्वय तथा सहजीकरणको जिम्मेवारी दिइएको छ।

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् । मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा भएकी हुन् ।

उनको मर्यादाक्रम सुधार भएसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मर्यादाक्रममा तल परेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको मर्यादाक्रम अनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ मर्यादाक्रममा रहेका छन् ।

१७ सदस्यीय मन्त्रिपरिषद्‌मा अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् राखिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर-४, महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ।

भारतीय मुद्रा खरिद-बिक्री कारोबारका लागि अनुमति पाएको उक्त संस्थाले आफ्नो इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो।

केन्द्रीय बैंकले कम्पनीको सोही निवेदनका आधारमा इजाजतपत्र खारेज गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त निर्णय लिइएको बैंकले स्पष्ट पारेको छ।

पाल्पा । रिब्दीकोट गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र ढुंगा, गिट्टी, बालुवालगायत निर्माणजन्य पदार्थको अवैध उत्खनन, संकलन तथा ओसारपसारमा रोक लगाएको छ । गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानमा अनुमतिबिना यस्ता कार्य भइरहेको गुनासो प्राप्त भएकाले रोक लगाइएको जनाएको हो ।

सूचनामा गाउँपालिकाको अनुमतिबिना निर्माणजन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार नगर्न र नगराउन सम्बन्धित सबैलाई स्पष्ट रूपमा सूचित गरिएको छ । जारी सूचनाविपरीत काम गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत शिशिर घिमिरे बताउनुभयो ।

उहाँले स्थानीय बासिन्दा र सरोकारवालाबाट अवैध उत्खनन तथा ओसारपसारका गुनासा आएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत सचेत गराएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनलाई प्रभावकारी बनाउँदै अनुमति नलिई ढुंगा, गिट्टी, बालुवा निकाल्ने वा ढुवानी गर्ने कार्य रोक्न प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्राकृतिक स्रोतको जथाभावी दोहनले वातावरणीय सन्तुलन खलबल्याउने, भूक्षय तथा पहिरोको जोखिम बढाउने र स्थानीय पूर्वाधारमा क्षति पु¥याउने बताउनुभयो । उहाँले गाउँपालिकाको समृद्धि र दिगो विकासका लागि प्राकृतिक स्रोतको कानुनी तथा व्यवस्थित उपयोग अपरिहार्य रहेको उल्लेख गर्दै नियम मिच्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

यस्तै, अवैध उत्खनन र ओसारपसारमा रोक लाग्दा गाउँपालिकालाई बहुआयामिक फाइदा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले लिएको छ । अनुमति र मापदण्डअनुसार मात्र उत्खनन तथा संकलन हुँदा गाउँपालिकाको आन्तरिक राजस्व संकलन पारदर्शी र व्यवस्थित बन्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेटबाट निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको फैसला गरेको हो ।

निवेदकले अन्तरिम आदेशको माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बनिधत सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने आदेशमा उल्लेख छ ।

“प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू”, आदेशमा भनिएको छ ।

कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा दिनमणि पोखरेललगायत तथा नेपाल सरकारकातर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान लगायतले वहस गरेका थिए । 

बुटवल । रुपन्देही मायादेवी गाँउपालिका- ७ ( साविक हाटीबगाइ-६) का  १४८ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय १४८ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्रिकेटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। २४ वर्षीय रोहितले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा विवाह गरेका हुन्।

रोहितले बिहीबार सामाजिक सञ्जालमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै आफ्नो विवाहबारे जानकारी दिएका हुन्। उनले सिम्रनसँगको तस्बिर राख्दै सपनाहरू निर्माण गर्ने यात्राका सहयात्री अब जीवनभरका लागि जीवनसाथी बनेको भाव व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ। सधैँभरि सँगै रहने वाचासहित।’

उनको विवाह समारोह थाइल्यान्डको रेयोङ मेरियट रिसोर्ट एन्ड स्पा (Rayong Marriott Resort & Spa) मा आयोजना भएको थियो। समारोहमा परिवारका सदस्य, निकट साथी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सहभागी भएका थिए। 

विवाहमा सहभागी हुन नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा पनि थाइल्यान्ड पुगेका थिए। उनीहरूले रोहितको खुसीमा सहभागी हुँदै वैवाहिक समारोहमा साथ दिएका थिए। 

२४ वर्षीय पाैडेल नेपाली क्रिकेटका पूर्व कप्तान हुन। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा उनले लुम्बिनी लायन्सकोसमेत कप्तानी गरेका थिए। उनको नेतृत्वमा लुम्बिनी लायन्स फाइनलसम्म पुगेको थियो। फाइनलमा भने टोली सुदूरपश्चिम रोयल्ससँग १० विकेटले पराजित भएको थियो। 

क्रिकेट मैदानमा आफ्नो खेल र नेतृत्वमार्फत परिचित रोहितले अब व्यक्तिगत जीवनको नयाँ यात्रा सुरु गरेका छन्। उनको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिकेटप्रेमी तथा शुभचिन्तकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नो लाइन होटलमा अवैध रूपमा स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गर्दा ५० लाख ५० हजार रुपैयाँ नेपाली मुद्रा, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिराम फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् ।

बरामद रकम र विदेशी मुद्राको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।