२०८३ मंसिर १३ आईतवार
Search
२०८३ मंसिर १३ आईतवार

पाल्पाको तिनाउमा आजदेखि सत्यवती मेला, चिच्याएर वर माग्नेको घुइँचो सुरु

पाल्पा । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।

सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ । मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालन हुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।

उनका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ । सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए ।

सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण :

यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो ।

रु. ६५ लाख ५८ हजारभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।  उनका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन् । 

यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ । धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ । 

हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।