काठमाडाैं । नेपाली कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन तथा सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको हो।
सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।



कांग्रेसले असहाय नागरिकप्रति सरकारले देखाएको पछिल्लो व्यवहारमा मानवीय संवेदना र करुणाको गम्भीर अभाव देखिएको उल्लेख गरेको छ। राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई सुरक्षित आश्रय दिनु राज्यको दायित्व भएको कांग्रेसको भनाइ छ।
होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिई विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ।
‘सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर गर्नुपर्छ,’ कांग्रेसले भनेको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय तथा दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।
निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
यसैबीच, नेपाली कांग्रेसले होल्डिङ सेन्टरसम्बन्धी समन्वय तथा सहजीकरणका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ र प्रबल थापा रहेका छन्। समितिलाई होल्डिङ सेन्टरसम्बन्धी आवश्यक समन्वय तथा सहजीकरणको जिम्मेवारी दिइएको छ।








