काठमाडौं । ‘हिमालयन चितुवा’को उपनामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत विश्व च्याम्पियनसिपको उपाधि जितेका छन्। अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा जापानको नागोया सहरस्थित करिया हलमा सम्पन्न प्रतियोगिताको मुख्य प्रतिस्पर्धामा अविरलले साविक विजेता फ्रान्सेली बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै उपाधि आफ्नो नाममा पारेका हुन्।
प्रतिस्पर्धाको दोस्रो राउन्डको दोस्रो मिनेटमा अविरलले प्रहार गरेको शक्तिशाली मुक्का सहन नसकेपछि चोइनार्ड रिङमै ढलेका थिए। त्यसपछि रेफ्रीले नकआउटको आधारमा अविरललाई विजेता घोषणा गरेका थिए। यो जितसँगै अविरल विश्व च्याम्पियनसिपको उक्त उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका छन्।
२९ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका अविरलले हालसम्म २१ खेलमा जित हात पारेका छन्। उनका २१ जितमध्ये २० जित नकआउटमार्फत हासिल भएका छन्। अविरलको पछिल्लो उपलब्धिलाई नेपाली बक्सिङ खेलका लागि ऐतिहासिक सफलता तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने उपलब्धिका रूपमा हेरिएको छ।





















