२०८३ आश्विन ३० शुक्रबार
Search
२०८३ आश्विन ३० शुक्रबार

ओलीद्वारा एमालेको थिंक ट्याङ्क ‘इन्स्पायर’को वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को आधिकारिक वेबसाइट सार्वजनिक गरेका छन्।

नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना गरिएको इन्स्पायरको वेबसाइट सार्वजनिक गरिएको हो।

इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नीति निर्माता, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका विषय विज्ञहरूलाई एउटै मञ्चमा जोडेर नीतिगत छलफल र अनुसन्धानलाई अघि बढाइरहेको छ। ज्ञान उत्पादन, वैचारिक विमर्श तथा रणनीतिक बहसलाई प्रोत्साहन गर्दै नेपालको लोकतान्त्रिक अभ्यास, समाजवाद उन्मुख व्यवस्था र राष्ट्रिय विकासमा योगदान पुर्‍याउने प्रतिष्ठानको लक्ष्य रहेको उनले बताए।

सार्वजनिक गरिएको वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। वेबसाइटमा अर्थ–राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समेटिएका छन्।

वेबसाइटमा प्रतिष्ठानले यसअघि सञ्चालन गरेका नीतिगत बहसका कार्यपत्र, अनुसन्धानमूलक लेख तथा प्रतिवेदनहरू राखिएका छन्। हाल आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन प्रकाशित गरिएको जनाइएको छ।

प्रकाशित सामग्रीमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सन्दर्भमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसांख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्व अर्थ–राजनीति, शक्ति सन्तुलन, आप्रवासनका कारण उत्पन्न संरचनात्मक परिवर्तन तथा समाजको वर्गीय विश्लेषणलगायत विषय समावेश छन्।

यसका अतिरिक्त वेबसाइटमा ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ जस्ता विशेष सामग्रीसमेत समेटिएका छन्।

प्रतिष्ठानका कार्यकारी निर्देशक आशीष रेग्मीले वेबसाइटमा प्रकाशित अध्ययन तथा अनुसन्धानमाथि हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचार र सुझावलाई ‘पोलिसी ल्याब’ मार्फत अघि बढाइने जानकारी दिए।

वेबसाइटको नेपाली संस्करणको सम्पादकीय जिम्मेवारी रामशरण बजगाइँ र अंग्रेजी संस्करणको जिम्मेवारी बालकृष्ण कट्टेलले सम्हालेका छन्।

अध्यक्ष रिमालले एमालेलाई वैचारिक तथा नीतिगत रूपमा थप सुदृढ बनाउनुका साथै राजनीतिक वृत्तबाहिर भइरहेका बहस, अनुसन्धान र सामाजिक मुद्दालाई राजनीतिको मूल प्रवाहसँग जोड्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको स्पष्ट पारे।

वेबसाइटमा समावेश अध्ययन तथा अनुसन्धानका विषयमा डा. युवराज खतिवडा, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्रतिष्ठानले अनुसन्धानमा आधारित नीतिगत सुझाव, वैचारिक छलफल र समसामयिक विषयको विश्लेषणमार्फत राष्ट्रिय नीति निर्माण प्रक्रियामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।