विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका आफन्तलाई भेट्न पुगेका दुई दिदीबहिनी लागुऔषधसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। उनीहरू दुवै दिदीबहिनी रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए।
बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८, हाटखोलास्थित जिल्ला कारागारको मुख्य प्रवेशद्वारमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।



एसपी भण्डारीका अनुसार शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचमा उनीहरूले लगाएको भित्री वस्त्रको प्याडभित्र लुकाएर राखिएको लागुऔषध फेला परेको थियो।
उनीहरूको साथबाट हरियो रङका २४० र सुन्तला रङका २४० गरी जम्मा ४८० थान शंकास्पद लागुऔषध क्याप्सुल तथा ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दिदीबहिनी कारागारमा रहेका कुन आफन्तलाई भेट्न गएका थिए भन्ने विषयमा भने प्रहरीले जानकारी सार्वजनिक गरेको छैन।


















