२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन तथा बीमा ऐनअन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका सञ्चालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा र दक्षिणकाली नगरपालिका–३ घर भएकी हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौंको टोलीले सुमेर शम्शेरलाई काठमाडौं महानगरपालिका–११ थापाथलीबाट बुधबार पक्राउ गरेको हो। त्यस्तै, दिपक कुमार श्रेष्ठलाई ललितपुर महानगरपालिका–१५ हात्तीवनबाट र उपसना पौडेललाई काठमाडौंको बबरमहलबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दिपक कुमार श्रेष्ठ र सुमेर शम्शेर जबरा धितोपत्र सम्बन्धी ऐन तथा बीमा ऐनअन्तर्गतका कसुरमा संलग्न रही फरार रहेका थिए। त्यस्तै, उपसना पौडेल बीमा ऐनअन्तर्गतको कसुरमा संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौं । रसुवाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा राहत तथा पुनर्स्थापनाका लागि त्रिभुवन विश्वविद्यालयले आर्थिक सहयोग गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १२ गते बसेको बैठकले विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित दिन बराबरको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार कुलपतिबाट नियुक्त पदाधिकारीको एक महिनाको पारिश्रमिक कट्टा गरिनेछ। त्यस्तै, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीको मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिने भएको छ।

यसैगरी उपप्राध्यापक, उपप्रशासक तथा शाखा अधिकृत/प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीको ७ दिन बराबरको, मुख्य कार्यालय सहायक तथा सो सरहका कर्मचारीको ५ दिन बराबरको र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक कट्टा गरिने त्रिविले जनाएको छ।

भदौ महिनाको तलब भुक्तानी गर्दा रकम कट्टा हुने

त्रिविको निर्णयअनुसार उक्त रकम २०८३ साल भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यसका लागि त्रिविको आर्थिक प्रशासन महाशाखामार्फत आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको सूचनामा उल्लेख छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला त्रिभुवन विश्वविद्यालयले पनि संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको हो।

त्रिविका निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा भदौ १२ गते जारी सूचनामार्फत विश्वविद्यालयअन्तर्गतका सम्बन्धित निकाय, शिक्षक तथा कर्मचारीलाई निर्णयबारे जानकारी गराइएको छ।

काठमाडौं । रसुवाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सम्पूर्ण परीक्षा स्थगित गरिएको छ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १२ गते बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित डिन कार्यालयमार्फत सञ्चालन भइरहेका सम्पूर्ण परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

त्रिवि रजिस्ट्रारको कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा भदौ १० गते रसुवाको रसुवागढीस्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उल्लेख छ।

भदौ २० गतेभित्र नयाँ परीक्षा तालिका

स्थगित परीक्षाको संशोधित परीक्षा तालिका भदौ २० गतेभित्र प्रकाशित गरिने त्रिविले जनाएको छ। केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान/संकायअन्तर्गतका परीक्षा सञ्चालक समितिमार्फत नयाँ परीक्षा तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ।

काठमाडौं । नेपाली मिश्रित मार्सल आर्ट्स खेलाडी रबिन्द्र ढाँटले राेड टु युएफसी-५ को फाइनलमा स्थान बनाएर नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

चीनको सांघाई स्थित ‌‌ओरियन्टल स्पाेर्टस् सेन्टरमा शुक्रबार भएको सेमिफाइनलमा धाँतले न्युजिल्यान्डका कासिब मुर्दाेचलाई पराजित गर्दै  फाइनलमा प्रवेश गरेका हुन्।

ढाँट र कासिब बीचको प्रतिस्पर्धा निकै कडा बनेको थियो। निर्धारित तीनै राउन्ड पूरा भएपछि विजेताको निर्णय निर्णायकहरूको स्कोरकार्डका आधारमा गरिएको थियो। अन्ततः ढाँट विजयी भए।

यस जितसँगै ढाँट अब राेड टु युएफसीको फाइनल पुग्ने नेपाली खेलाडी बनेका छन्। ‘बझाङका बाघ’ उपनामले समेत परिचित ढाँटले युएफसीसम्म पुग्ने यात्रामा अर्को महत्वपूर्ण सफलता हात पारेका हुन्।

मकाउबाट सुरु भएको यात्रा सांघाईसम्म

ढाँटको राेड टु युएफसीकाे यात्रा सन् २०२६ को मे महिनामा चीनको मकाउस्थित ग्यालेक्सी एरेनाबाट सुरु भएको थियो। पहिलो चरणको खेलमा उनले फिलिपिन्सका किम्बर्ट एलिन्टाेजनलाई दोस्रो राउन्डमा technical knockout (TKO) मार्फत पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका ढाँटले त्यसपछि सेमिफाइनलमा न्युजिल्यान्डका कासिबलाई हराउँदै अब उपाधिका लागि अन्तिम भिडन्त गर्ने भएका छन्।

अब फाइनलमा जापानका र्यो ताजिमासँग भिडन्त

ढाँटले फाइनलमा जापानका र्यो ताजिमाको सामना गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुनग्रेङ्ग काेरेनलाई मार्फत पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

दाङ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि रोल्पा इरिबाङ सेवा समाज, दाङले आयोजना गर्न लागेको बाह्रभदौ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

समाजले जारी गरेको सूचनामा देश नै गहिरो शोकमा डुबेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको छ। समाजले यसअघि “परम्परा, संस्कार र संस्कृतिको संरक्षण : रोल्पा इरिबाङ सेवा समाजको अभियान” भन्ने मूल नारासहित यस वर्षको घुस्रान्ति तथा बाह्रभदे कार्यक्रमको तयारी गरेको थियो।

रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै समाजले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी तथा प्रभावकारी उद्धारका लागि सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

समाजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा पीडित परिवार तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगमा जुट्न सबैमा अपिल समेत गरेको छ।

समाजको कार्यसमिति बैठकले भोलि आयोजना हुने भनिएको बाह्रभदे कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा स्थगित गर्ने निर्णय गरेको हो। देश गहिरो पीडामा रहेका बेला उत्सव मनाउनु उपयुक्त नहुने भन्दै समाजले कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ।

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित सेवाग्राहीका लागि उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवा अवधि थप तीन दिनका लागि विस्तार गरेको छ। नेपाल टेलिकमले सार्वजनिक गरेको सूचनाअनुसार अब भदौ १४ गतेसम्म बाढी प्रभावित क्षेत्रमा रहेका सेवाग्राहीले निःशुल्क सेवा प्राप्त गर्नेछन्।

यस अवधिमा सेवाग्राहीले Voice Call, प्रतिदिन २ जीबी Data र ५० वटा SMS निःशुल्क प्रयोग गर्न पाउनेछन्। बाढी प्रभावित क्षेत्रमा आवश्यक सञ्चार सम्पर्क सहज बनाउने उद्देश्यले कम्पनीले उक्त सुविधा निरन्तरता दिएको हो।

टेलिकमले आपत्कालीन तथा आवश्यक सञ्चारका लागि सेवाग्राहीलाई सुविधाको प्राथमिकतापूर्वक प्रयोग गर्न आग्रह गरेको छ। साथै, विपद्को समयमा आधिकारिक सूचनामात्र विश्वास गर्न पनि अनुरोध गरेको छ।

आवश्यक सहयोग तथा आपत्कालीन सम्पर्कका लागि नेपाल टेलिकमले १९७६, १०० र १११४ नम्बर उपलब्ध गराएको जनाएको छ।

 

भरतपुर । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएर ल्याएको मृतकको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा शवबाट मुन्द्रा निकाल्ने कार्यमा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्। 

प्रहरीका अनुसार दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्को समयमा पीडित तथा मृतकप्रति हुने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ। 

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन तथा पहिचानको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गरेको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।