काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४ सय ७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप २ जनाको मृत्यु भएको हो।
फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २ सय ३७ वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ तथा आफन्तका १ हजार ९ सय १४ गरी कुल ३ हजार २ सय वटा डीएनए नमुना संकलन गरिएको छ।



यसैगरी, पहिचान हुन नसकेका १ हजार ३ सय ६१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ९ सय ७९ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।


















