काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले राहत सामग्री आफैंले लिएको, वितरण नगरी सडाएर राखेको लगायतका आरोपसहित सामाजिक सञ्जालमा फैलाइएको सूचनाप्रति नेपाल प्रहरीले कडा आपत्ति जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता दाबीहरू भ्रामक, तथ्यहीन र कपोलकल्पित रहेको स्पष्ट पारेको छ। प्रहरीले आफ्नो निकायमा कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत प्रस्ट पारेको छ।
विपद्को समयमा सुरक्षाकर्मीहरू नागरिकको उद्धार, खोज तथा राहत कार्यमा निरन्तर खटिइरहेको अवस्थामा उनीहरूको मनोबल गिराउने र सुरक्षा निकायप्रति आम नागरिकमा अविश्वास सिर्जना गर्ने गरी झुटा आरोप तथा अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको प्रहरीले जनाएको छ।



प्रहरीले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना र आरोपका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै तथ्य पुष्टि नगरी अफवाह फैलाउने कार्य तत्काल रोक्न समेत अनुरोध गरेको छ। साथै, विपद्जस्तो संवेदनशील अवस्थामा गलत सूचना फैलाउँदा उद्धार तथा राहत व्यवस्थापनमा समेत नकारात्मक असर पर्न सक्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले विपद्को समयमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने कुनै पनि किसिमका भ्रामक प्रचारप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


















