२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले राहत सामग्री आफैंले लिएको, वितरण नगरी सडाएर राखेको लगायतका आरोपसहित सामाजिक सञ्जालमा फैलाइएको सूचनाप्रति नेपाल प्रहरीले कडा आपत्ति जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता दाबीहरू भ्रामक, तथ्यहीन र कपोलकल्पित रहेको स्पष्ट पारेको छ। प्रहरीले आफ्नो निकायमा कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत प्रस्ट पारेको छ।

विपद्को समयमा सुरक्षाकर्मीहरू नागरिकको उद्धार, खोज तथा राहत कार्यमा निरन्तर खटिइरहेको अवस्थामा उनीहरूको मनोबल गिराउने र सुरक्षा निकायप्रति आम नागरिकमा अविश्वास सिर्जना गर्ने गरी झुटा आरोप तथा अफवाह फैलाउनु गैरजिम्मेवार कार्य भएको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालमा आउने अपुष्ट सूचना र आरोपका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै तथ्य पुष्टि नगरी अफवाह फैलाउने कार्य तत्काल रोक्न समेत अनुरोध गरेको छ। साथै, विपद्जस्तो संवेदनशील अवस्थामा गलत सूचना फैलाउँदा उद्धार तथा राहत व्यवस्थापनमा समेत नकारात्मक असर पर्न सक्ने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले विपद्को समयमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने कुनै पनि किसिमका भ्रामक प्रचारप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार राति ८ बजेसम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव फेला परेका छन्।

फेला परेका शवको पहिचानका लागि मृतक र आफन्त गरी २ हजार ६९८ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म १ हजार १४७ शव व्यवस्थापन गरिएको छ भने पहिचान नभएका १ हजार ३१० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म ४ हजार ७७ जना बेपत्ता रहेको र विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ३० जना राखिएको नेपाल प्रहरीले जनाएको छ।

 काठमाडौँ । एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ। यो प्रविधिले सञ्चार सञ्जाल अवरुद्ध भएको बेला समेत स्याटलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्छ।

बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर र राहत वितरण केन्द्र, अस्थायी शिविर, आपत्कालीन कार्य हुने स्थान लगायतका  क्षेत्रमा यो प्रविधिले हालको अवस्थामा नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ। हालसम्म यो प्रविधि मार्फत नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा उपलब्ध गराइएको छ भने बाढी प्रभावित अन्य स्थानमा जडान गर्ने कार्य जारी छ।

  

यो प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्दछ। त्यसपछि उक्त उपकरणले वरपरका क्षेत्रमा एक अर्को उपकरणमार्फत वाईफाई सेवा उपलब्ध गराउँछ । साधारण इन्टरनेट र मोबाइल सेवा उपलब्ध नभए पनि यो प्रविधिले इन्टरनेट सेवा दिन्छ।

यो प्रविधिले उच्च-गति र लो लेटेन्सी कनेक्टिभिटी प्रदान गर्दछ जसको अर्थ मानिसहरूले यसलाई सन्देश आदानप्रदान, इन्टरनेट-आधारित कल, महत्त्वपूर्ण जानकारी पहुँच, ब्राउजिङ र राहत प्रयासहरूको समन्वयका लागि प्रयोग गर्न सक्छन्।

एनसेलले यो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायहरूबाट आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको छ ।

“हामीले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटको तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ। यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीय वासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,” एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले भने ।

पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाख भन्दा बढी प्रभावित ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ। कम्पनीले एनसेल फाउन्डेसन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एक अर्कासँग सम्पर्कमा रहनु अत्यावश्यक रहेका बेला स्याटलाइटमार्फत इन्टरनेट उपलब्ध गराउनु एनसेल सधैँ नेपाली जनतासँग उभिने दृढ सङ्कल्पको बलियो प्रमाण हो। एनसेलको यो कार्य अवरुद्ध सेवा पुनः सञ्चालन गर्न मात्र सीमित छैन भन्ने देखाउँछ।

दूरसञ्चार सेवा उपलब्ध नहुँदा आपत्कालीन समयमा सबैलाई सम्पर्कमा राख्न एनसेल हरेक सम्भव उपाय खोज्ने काममा केन्द्रित रहेको छ। सडक अवरुद्ध, फाइबर क्षतिग्रस्त हुँदा र सूचनाको प्रतीक्षा हुँदा कनेक्टिभिटी केवल सुविधा होइन, लाइफलाइन हो भन्ने एनसेलको विश्वास छ। र यो लाइफलाइन सबैभन्दा बढी आवश्यक परेका समुदायका लागि खुला राख्न एनसेल प्रतिबद्ध छ।

काठमाडौं । एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर बलिङ गर्ने भएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो।

जारी प्रतियोगितामा नेपाल लगातार तीन जित दर्ता गर्दै एक खेल अगावै सेमीफाइनल प्रवेश गरिसकेको छ। समूह ए अन्तर्गत मलेसिया, हङकङ, साउदी अरेबिया र बहराइन रहेको टोलीमा नेपाल रहेको छ जसमा तिनमा तीन खेल दर्ता गर्दै नेपाल समूह विजेता भइसकेको छ। 

हङकङ र मलेसिया समान ४/४ अङ्क लिएर लगातार दोस्रो र तेस्रो स्थानमा रहेका छन्। हङकङले यसअघि सुपर ओभरमा मलेसियालाई पराजित गरेको थियो। त्यसैगरी हङकङले साउदी अरेबियालाई पराजित गरेको थियो भने बहराइनसँग ३२ रनले पराजित भएको थियो। आजको यो खेलमा नेपाललाई पराजित गर्न सकेमा हङकङ सेमिफाइनल प्रवेश गर्नेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको हो।

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरे। विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले वर्ल्डलिंकले उक्त रकम प्रदान गरेको हो।

वर्ल्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो। देशका नागरिक समस्थामा परेका बेला आफु पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको जारी विज्ञप्तीमा उल्लेख छ।

हालैको बाढीबाट वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब रु. ३.५ करोड बराबरको क्षति व्यहोरेको जानकारी दिएको छ।

तर, आफ्नै संरचनामा ठूलो क्षति भए पनि वर्ल्डलिंकले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीकाअनुसार, विपद्का कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भएको अवस्थामा पनि वर्ल्डलिंकका प्राविधिक सम्पूर्ण टिम तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापनामा निरन्तर खटिएका थिए ।

नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख छ।

विपद्को समयमा कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेको अवस्थामा पनि रु. १ करोड १ लाखको आर्थिक सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।