२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

सुलभ फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयासप्रति तिलोत्तमा नगरपालिकाको आपत्ति

रुपन्देही । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेको सुलभ फार्मेसीका सम्बन्धमा भ्रमपूर्ण प्रचारप्रसार तथा सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय तथा पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ। नेपालको संविधानको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार नागरिकको स्वास्थ्यसँग जोडिएका औषधि तथा औषधिजन्य सामग्री सर्वसुलभ रूपमा उपलब्ध गराउनु नगरपालिकाको सामाजिक दायित्व भएको नगरपालिकाले स्पष्ट पारेको छ।

नगरपालिकाका अनुसार २०८३/०४/२० गते नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा सुलभ फार्मेसीका सम्बन्धमा नगरप्रमुखलाई जोडेर औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बालराम भट्टराईले व्यक्त गरेको गैरजिम्मेवार, भ्रामक तथा तथ्यहीन अभिव्यक्तिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो।

विज्ञप्तिमा सार्वजनिक कार्यक्रम वा संस्थागत निर्णयमाथि प्रश्न उठाउने, आलोचना गर्ने वा सुझाव दिने स्वतन्त्रता सबैलाई भए पनि त्यस्ता अभिव्यक्ति तथ्य, प्रमाण र कानुनी व्यवस्थामा आधारित हुनुपर्ने उल्लेख गरिएको छ। जिम्मेवार व्यक्तिबाट अपुष्ट सूचना तथा अतिरिक्त दाबीमार्फत भ्रम सिर्जना गर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा आएपछि केही औषधि व्यवसायी तथा व्यवसायीसम्बद्ध संस्थाबाट असहमति प्रकट हुनुका साथै फार्मेसीका लागि आवश्यक औषधिको आपूर्तिमा अवरोध सिर्जना गरी सेवा प्रवाह प्रभावित पार्ने प्रयास भएको जनाएको छ।

यस्तो गतिविधिले नागरिकको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पार्न सक्ने भन्दै नगरपालिकाले औषधिको नियमित आपूर्ति अवरुद्ध गर्ने, सार्वजनिक स्वास्थ्य सेवामा बाधा पुर्‍याउने वा सार्वजनिक संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले तथ्यहीन तथा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।

नगरपालिकाले औषधि आपूर्तिमा अवरोध सिर्जना गर्ने तथा सेवा प्रवाहमा बाधा पुर्‍याउने गतिविधिका सम्बन्धमा आवश्यक प्रमाण संकलन गरी सम्बन्धित नियामक निकायसमक्ष पेस गर्ने जनाएको छ। साथै, नागरिकको स्वास्थ्य सेवामा प्रतिकूल असर परेको वा प्रचलित कानुनको उल्लङ्घन भएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले सुलभ फार्मेसीलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै, यस विषयमा फैलिएका भ्रम तथा अन्योलमा नपरी तिलोत्तमा नगरपालिकाका आधिकारिक सूचना तथा तथ्यमा आधारित जानकारीलाई आधार बनाउन सबैमा आग्रह गरेको छ।

नगरप्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तिको अन्त्यमा नागरिकको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको औषधि आपूर्ति तथा फार्मेसी सञ्चालनमा अनावश्यक अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।