पाल्पा । पाल्पाको तानसेनमा आज २०७औँ रणउजेश्वरी भगवती रथयात्रा भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विजय महोत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती रथयात्रामा यस वर्ष पनि श्रद्धालु भक्तजन तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियाे।
रथयात्रामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर सहभागी भई भगवती देवीको दर्शन तथा आशीर्वाद ग्रहण गर्नुभएको थियाे। त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभाका सदस्यलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले भगवती मन्दिरमा पूजाआजा गर्नुका साथै रथयात्रामा सहभागिता जनाउनुभएको थियाे।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भगवती रथयात्रा पाल्पाको प्रमुख जात्रामध्ये एक हो। नेपाल–अंग्रेज युद्धको ऐतिहासिक विजयसँग जोडिएको यस जात्रालाई हरेक वर्ष विजय उत्सवका रूपमा मनाउने गरिन्छ।



नेपाल र अंग्रेजबीच भएको युद्धका क्रममा वि.सं. १८७१–७२ मा कर्णेल उजिरसिंह थापाको कमाण्डमा पाल्पाको नुवाकोट गढीमा तैनाथ नेपाली सेनाले जितगढीमा तोप हानी अंग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक घटनाको स्मरणमा भगवती रथयात्रा विजय उत्सवका रूपमा मनाउँदै आएको इतिहास छ।

भगवती देवीको रथलाई तानसेन बजार परिक्रमा गराइने क्रममा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। बाजागाजा, धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइएको रथयात्राले तानसेनको वातावरणलाई उत्सवमय बनाएको थियो।
पाल्पाको ऐतिहासिक पहिचान, धार्मिक आस्था र नेपाली वीरताको स्मरणसँग जोडिएको भगवती रथयात्राले हरेक वर्ष स्थानीयवासीसँगै देशका विभिन्न स्थानबाट आउने श्रद्धालु तथा पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ।


















