२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सरकारले कहिल्यै एक्लो र अलपत्र नछोड्ने बताउनुभएको छ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले खोज तथा उद्धार कार्यमा अझै आशा कायम रहेको बताउनुभएको हो।

प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिंगो देशमा आशा जगाएको उल्लेख गर्नुभएको छ। उहाँले सरकार खोज तथा उद्धार कार्यमा निरन्तर डटेर लागिरहेको सन्देशसमेत यस घटनाले दिएको बताउनुभएको छ।

उहाँका अनुसार चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा उद्धार गरिसकिएको छ।

बाढीका क्रममा ज्येष्ठ नागरिकहरूले समेत असाधारण साहस प्रदर्शन गरेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। कतिपय आमाबुबाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको र लौरो नटेकी दुई पाइला सर्नसमेत कठिन हुने अवस्थामा आफ्ना सन्तान बचाउन अदम्य साहस देखाएको उहाँले उल्लेख गर्नुभएको छ।

बाढीका कारण वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

बाढीबाट प्रभावित नागरिकले भोग्नुपरेको पीडा र आघातप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफूहरूलाई एक्लो नठान्न आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, ‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौँ । हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’

पाल्पा । पाल्पाको तानसेनमा आज २०७औँ रणउजेश्वरी भगवती रथयात्रा भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विजय महोत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती रथयात्रामा यस वर्ष पनि श्रद्धालु भक्तजन तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियाे।

रथयात्रामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर सहभागी भई भगवती देवीको दर्शन तथा आशीर्वाद ग्रहण गर्नुभएको थियाे। त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभाका सदस्यलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूले भगवती मन्दिरमा पूजाआजा गर्नुका साथै रथयात्रामा सहभागिता जनाउनुभएको थियाे।

 ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भगवती रथयात्रा पाल्पाको प्रमुख जात्रामध्ये एक हो। नेपाल–अंग्रेज युद्धको ऐतिहासिक विजयसँग जोडिएको यस जात्रालाई हरेक वर्ष विजय उत्सवका रूपमा मनाउने गरिन्छ।

नेपाल र अंग्रेजबीच भएको युद्धका क्रममा वि.सं. १८७१–७२ मा कर्णेल उजिरसिंह थापाको कमाण्डमा पाल्पाको नुवाकोट गढीमा तैनाथ नेपाली सेनाले जितगढीमा तोप हानी अंग्रेज सेनालाई परास्त गरेको ऐतिहासिक घटनाको स्मरणमा भगवती रथयात्रा विजय उत्सवका रूपमा मनाउँदै आएको इतिहास छ।

भगवती देवीको रथलाई तानसेन बजार परिक्रमा गराइने क्रममा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। बाजागाजा, धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइएको रथयात्राले तानसेनको वातावरणलाई उत्सवमय बनाएको थियो।

पाल्पाको ऐतिहासिक पहिचान, धार्मिक आस्था र नेपाली वीरताको स्मरणसँग जोडिएको भगवती रथयात्राले हरेक वर्ष स्थानीयवासीसँगै देशका विभिन्न स्थानबाट आउने श्रद्धालु तथा पर्यटकलाई समेत आकर्षित गर्दै आएको छ।

काठमाडौं । नेपाल सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, महसुल छुट, कर्जा सहुलियत र बीमा दाबी भुक्तानीसम्बन्धी विशेष प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले २०८३ भदौ १८ गते भोटेकोशी बाढीबाट प्रभावित व्यवसायी तथा ऋणीलाई लक्षित गर्दै विभिन्न सहुलियत दिने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार बाढीका कारण मर्मतसम्भार गर्न नसकिने गरी क्षतिग्रस्त वा बाढीले बगाएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका सवारी पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ।

त्यस्तै, बाढीबाट पूर्ण रूपमा नष्ट भएका प्लाण्ट, मेशिनरी, यन्त्र तथा उपकरणको सट्टामा सोही प्रकृतिका उपकरण आयात गर्दा नष्ट भएको परिमाणभन्दा बढी नहुने गरी भन्सार महसुल पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको छ।

बाढीका कारण भन्सार महसुल बुझाइसकेको तर गन्तव्यमा पुग्नुअघि नै वस्तु नष्ट भएको अवस्थामा पनि राहत दिइने भएको छ। त्यस्ता वस्तुको सट्टामा सोही प्रकृतिको वस्तु ६ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गर्दा यसअघि तिरेको महसुल बराबरको रकम समायोजन गर्न सकिनेछ।

कर विवरण बुझाउने म्याद थप

बाढी प्रभावित क्षेत्रका करदाताले २०८३ भदौ र असोजमा बुझाउनुपर्ने विवरण तथा सो विवरणअनुसारको कर २०८३ कात्तिक २५ गतेसम्म बुझाउन सक्ने गरी म्याद थप गरिएको छ।

बाढीबाट क्षति भएको व्यावसायिक सम्पत्तिमा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दाबी समायोजन प्रक्रियालाई समेत सरल बनाइनेछ।

पूर्ण रूपमा क्षति भएको व्यावसायिक सम्पत्तिको मूल्यलाई कर प्रयोजनका लागि एकमुष्ठ खर्च कट्टी गर्न सकिने व्यवस्था मिलाइने भएको छ। आंशिक क्षति भएका ह्रासयोग्य सम्पत्तिको मर्मत तथा सुधार खर्चमा आय वर्ष २०८३/८४ को करयोग्य आय निर्धारण गर्दा आयकर ऐनले तोकेको सीमा नलाग्ने व्यवस्था पनि गरिएको छ।

बाढीबाट प्रत्यक्ष प्रभावित पूर्वानुमानित आय विवरण (D01) पेश गर्ने व्यक्तिलाई आय वर्ष २०८२/८३ को आयकर पूर्ण छुट दिने निर्णयसमेत भएको छ।

यसैगरी, बाढीबाट प्रत्यक्ष प्रभावित व्यक्तिलाई क्षतिग्रस्त व्यवसाय तथा सम्पत्तिमा निश्चित अवधिका लागि सम्पत्ति कर, व्यवसाय कर, नक्सापास दस्तुर तथा अन्य स्थानीय शुल्कमा सहुलियत दिन प्रदेश सरकार र स्थानीय तहलाई अनुरोध गरिनेछ।

ऋणको पुनर्संरचना र ब्याजमा सहुलियत

बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानीमा समेत सहुलियत दिइने भएको छ।

रसुवा भन्सारबाट भित्रिएका वस्तुको क्षति यकिन गरी व्यवसाय, वस्तुको प्रकृति, क्षतिको अवस्था तथा बीमा दाबीलाई आधार बनाएर ऋणीको अनुरोधमा कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ। साँवा तथा ब्याज भुक्तानीको म्यादसमेत सार्न सकिने व्यवस्था गरिएको छ।

बाढी प्रभावित ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि एकपटक कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण तथा भुक्तानी म्याद सार्ने सुविधा दिइनेछ।

बाढीबाट क्षतिग्रस्त व्यावसायिक सवारी, ढुवानीका साधन तथा यन्त्र उपकरण पुनः खरिद गर्न चाहने व्यवसायीलाई बैंकको आधारदरमा तोकिएको न्यूनतम प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ। यस्तो कर्जामा लागू ऋणमूल्य अनुपातसमेत पुनरावलोकन गरिने भएको छ।

त्यस्तै, सबै प्रकारका बाढी प्रभावित ऋणीलाई एक वर्षसम्म बैंकको आधारदरमा ०.५ प्रतिशत बिन्दुको प्रिमियम वा विद्यमान प्रिमियमदर थप गर्दा कायम हुने ब्याजदरमध्ये जुन कम हुन्छ, त्यही ब्याजदर लागू गरिनेछ।

उद्योग तथा व्यापार पुनरुत्थान वा रोजगारीको सुरक्षा गर्न आवश्यक परेमा ऋणीको अनुरोधमा बैंकले सम्बन्धित तेस्रो पक्षको खातामा सोझै भुक्तानी हुने गरी थप कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था पनि मिलाइनेछ।

बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी

बाढीबाट भएको क्षतिको बीमा दाबीलाई छिटो टुंग्याउन बीमा सर्वेक्षण प्रक्रियालाई समेत सरल बनाइने भएको छ।

बीमा प्राधिकरणले क्षतिको मूल्याङ्कन प्रभावकारी र छिटो बनाउन सरलीकृत प्रक्रियाबाट सर्भेयर खटाउन सक्ने व्यवस्था मिलाउनेछ।

प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बीमितलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइनेछ। पुनर्बीमकले पनि बीमकलाई अधिकतम ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था हुनेछ।

बीमा दाबी भुक्तानीलाई सरल र प्रभावकारी बनाउन बीमकले संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्नुपर्नेछ।

सरकारले बाढी प्रभावित व्यवसायीलाई लक्षित गरी घोषणा गरेको यो प्याकेजले क्षतिग्रस्त व्यवसाय तथा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन, व्यवसायीको वित्तीय भार घटाउन तथा आर्थिक गतिविधिलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरेको छ।

काठमाडौँ। कर्तव्य पालनाका क्रममा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका आश्रित परिवारलाई सशस्त्र प्रहरी बल नेपालले २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

सशस्त्र प्रहरीका अनुसार मृतकका परिवारलाई राष्ट्र सेवकका तर्फबाट १५ लाख, सम्बन्धित कार्यविधिअनुसार पाँच लाख र विपद् प्रकोप राहत कोषबाट पाँच लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी हुन बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ। साथै, मृतकका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिइनेछ।

भोटेकोशी बाढीमा सशस्त्र प्रहरीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय पनि भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिइने भएको छ।

त्यसैगरी, बाढीमा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख, घरबारविहीन भएमा एक लाख तथा आंशिक भौतिक क्षति भएका वा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ। टिमुरेस्थित बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट ज्यान जोगाउन सफल सशस्त्र प्रहरीको हकमा भने उक्त रकम कट्टा नगरिने जनाइएको छ।

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-४ सुरुङबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाबाट आएको विपद् विशेषज्ञ टोलीको संयुक्त प्रयासमा शुक्रबार ती चिनियाँ नागरिकलाई सुरुङबाट उद्धार गरिएको हो। उद्धारपछि उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइएको जनाइएको छ।

भोटेकोशीमा बाढी आएको ११औँ दिन शनिबार बेत्रावतीबाट चण्डिका श्रेष्ठको पनि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ।

यसअघि शुक्रबार दुई जनाको जीवितै उद्धार गरिएको थियो। पछिल्ला उद्धारसहित भोटेकोशी बाढीका कारण विभिन्न स्थानमा ट्रयापमा परेका चार जनाको अहिलेसम्म सकुशल उद्धार गरिएको छ।

उद्धार टोलीले बाढी तथा पहिरोका कारण जोखिमपूर्ण बनेका सुरुङ र आसपासका क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तारसँगै तिनाउ नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण हुने भएको छ। सडक विभागले पुल निर्माणका लागि चिनियाँ कम्पनी एमरएस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

सम्झौताअनुसार पुल निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार ठेक्का सम्झौताको मितिबाट निर्माण अवधि गणना हुनेछ।

हाल सञ्चालनमा रहेको पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरिनेछ। यसबाट तिनाउ नदीमा चार लेनको आधुनिक पुल तयार हुनेछ। नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटर रहनेछ।

पुलसँगै करिब ९८० मिटर लामो पहुँचमार्गसमेत निर्माण गरिने योजना छ। पैदलयात्रुका लागि छुट्टै व्यवस्थित तथा आकर्षक फुटपाथको व्यवस्था गरिने भएकाले पुलले सवारी आवागमनसँगै पैदल यात्रालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्ने योजना अघि सारेको थियो। नारायणीमा पुल निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा तिनाउको समेत ठेक्का सम्झौता भएपछि पश्चिम नेपालमा ठूला पूर्वाधार निर्माणले थप गति लिने अपेक्षा गरिएको छ।

तिनाउको नयाँ पुल करिब ५० किलोमिटर लामो बुटवल–गोरुसिङ्गे सडकलाई चार लेनमा विस्तार गर्ने योजनाकै महत्वपूर्ण हिस्सा हो। सडक र पुल दुवै स्तरोन्नति भएपछि पूर्व–पश्चिम राजमार्गमा हुने सवारी आवागमन थप सहज हुने विश्वास गरिएको छ।

काठमाडौं। एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भोलि भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो।

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्।

यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि निःशुल्क सेवाको अवधि ७ दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो। “यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने निर्णय गरेका हौं। अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ।

प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा

एनसेलले भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ। कम्पनीले बाँकी टावरहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ।

बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए। हिजो बिहीबार कम्पनीले आफ्नो २५औं टावर नुवाकोटको त्रिशुलीमा पुनः सञ्चालनमा ल्याएको छ। रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ। रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याई सेवा पुनः सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ।

एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा खोज, उद्धार, राहत र जनचेतना फैलाउने लगायतका कार्यमा सहयोग पुर्याउँदै आएको छ। सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत सम्प्रेषण गर्दै आएको छ।

यसैगरी, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १ करोड सहयोग गरेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।