काठमाडौं। जिल्ला सिरहाको औरही गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको माछा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा अनियमितता भएको आरोपमा चार जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ।
अनुसन्धानबाट औरही गाउँपालिका र प्रगतिशील कृषक समूह, औरही–४, सिरहाबीच १५ लाख रुपैयाँको सम्झौता भएकोमा सम्झौताअनुसार किसानलाई वितरण गर्नुपर्ने माछाका भुरा, माछा दाना, चुना तथा अन्य सामग्री कम वितरण गरी पूरा काम भएको देखाइएको पाइएको आरोप छ।
झुट्टा बिल भरपाईका आधारमा ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिने तथा दिने कार्य भएको अनुसन्धानबाट देखिएको बताइएको छ।



उक्त प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख तथा पशु अधिकृत रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती तथा प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादव विरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी सहित उक्त मुद्दा आज विशेष अदालत, काठमाडौंमा दायर गरेको जनाएको छ।


















