२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

२२ वर्ष बित्दा पनि शहिदमार्गको पुल अलपत्र, लरीछहरामा जोखिमपूर्ण यात्रा

रोल्पा । ऐतिहासिक शहिदमार्ग निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि सडकको अवस्था पूर्ण रूपमा सुधार हुन सकेको छैन। सडक स्तरोन्नति र विभिन्न खोलानालामा पुल निर्माण कार्य सुस्त हुँदा रोल्पाका स्थानीय बासिन्दा तथा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) ले वि.सं. २०६१ साल मंसिर ५ गते जनश्रमदानमार्फत निर्माण सुरु गरेको शहिदमार्ग अझै पनि अधुरो अवस्थामा रहेको स्थानीयको गुनासो छ। विशेषगरी रोल्पाको माडी गाउँपालिका–३ स्थित लरीछहरामा पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समेत समस्या भएको छ।

लरीछहरामा नयाँ पुल निर्माणका लागि ठेकेदार कम्पनीले फाउन्डेसन (जग) खनेर काम अघि नबढाउँदा पुरानो पुल जीर्ण र जोखिमपूर्ण बन्दै गएको हो। पुलको दायाँबायाँ सडक संरक्षणका लागि राखिएका ग्याबियन जालीसमेत भत्किएर बगिसकेका छन्।

नयाँ संरचना निर्माण अघि नबढेपछि ठूला मालवाहक सवारीसाधनसमेत उक्त पुलबाट सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको छ। यात्रुवाहक बस तथा साना सवारीसाधन भने साँघुरो र जीर्ण पुल हुँदै जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

स्थानीयका अनुसार पुलको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले सामान्य असावधानीले पनि ठूलो दुर्घटना निम्तिन सक्ने अवस्था छ। पुल र सडकको किनार कमजोर बन्दै गएपछि यात्रु तथा चालकहरू त्रासमा यात्रा गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्व बोकेको शहिदमार्गको यस खण्डमा पुल निर्माण कार्य लामो समयसम्म अलपत्र पारिएको भन्दै स्थानीयले निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गरेका छन्। साथै, जनताको समस्या समाधानका लागि निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धित निकायले समेत प्रभावकारी पहल नगरेको स्थानीयको गुनासो छ।

सम्भावित दुर्घटना रोक्न तत्काल जीर्ण पुलको मर्मत–सम्भार, जोखिम क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था तथा नयाँ पुल निर्माण कार्यलाई तीव्रता दिन स्थानीयले सम्बन्धित सडक आयोजना, स्थानीय सरकार र सरोकारवाला निकायसँग माग गरेका छन्।

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।