काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहत कार्य जारी छ। यही संवेदनशील अवस्थाको दुरुपयोग गर्दै ठगी तथा स्क्याम हुन सक्ने भन्दै नेपाल प्रहरीले आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोग गरी राहत तथा सहयोगका नाममा रकम ठगी गर्ने प्रयास हुन सक्ने जनाएको छ। विशेषगरी “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा फैलाउने जस्ता गतिविधिप्रति सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम तथा भाइबरलगायतका प्लेटफर्ममा नक्कली राहत कोष वा सहयोग अभियानका नाममा फर्जी पेज तथा समूह सञ्चालन गर्ने, राहत सहयोग दर्ताको बहानामा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रयास हुन सक्ने प्रहरीले जनाएको छ।



अपरिचित नम्बरबाट “म सुरक्षित छु, मलाई पैसा पठाइदिनु” भन्दै आर्थिक सहयोग माग्ने व्यक्तिहरूबाट समेत सावधान रहन प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीले सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता तथा अन्य विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ।
अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागिएमा कुनै पनि विवरण उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ।
अपरिचित व्यक्तिले राहतका नाममा रकम मागेमा पैसा पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत अनिवार्य रूपमा पहिचान पुष्टि गर्नसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ।
विपद्को अवस्थामा राहत र सहयोगका नाममा स्क्याम भएको वा हुन लागेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल सम्पर्क गर्न समेत प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ।
नेपाल प्रहरीले विपद्को घडीमा सहयोगको भावना र विश्वासको दुरुपयोग हुन नदिन डिजिटल कारोबारमा विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।


















