२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आमसर्बसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो ।

यस दुःखद् घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति एनसेल हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, हराई रहेका तथा प्रभावितहरुको शीघ्र उद्धार तथा राहत व्यवस्थापनको कामना गरेको छ ।

एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ। यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “विपद्को यस कठिन घडीमा प्रभावित जनताहरुको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले रु. १ करोड सहयोग गर्ने निर्णय गरेका हौं।

यस विषम परिस्थितीमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं।” एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि कुमारी बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ।

बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनाका लागि प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने क्रममा बैंकले उक्त रकम हस्तान्तरण गरेको हो।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित बैंकका उच्च अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको नगद सहयोग हस्तान्तरण गरेका हुन्।

बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा जनधनको क्षति भएपछि सरकार उद्धार, राहत, खोज तथा पुनर्स्थापनाको काममा जुटिरहेको छ। विपद्को यस घडीमा निजी क्षेत्रबाट प्राप्त सहयोगले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहत कार्य जारी छ। यही संवेदनशील अवस्थाको दुरुपयोग गर्दै ठगी तथा स्क्याम हुन सक्ने भन्दै नेपाल प्रहरीले आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोग गरी राहत तथा सहयोगका नाममा रकम ठगी गर्ने प्रयास हुन सक्ने जनाएको छ। विशेषगरी “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो तथा नाम नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा फैलाउने जस्ता गतिविधिप्रति सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम तथा भाइबरलगायतका प्लेटफर्ममा नक्कली राहत कोष वा सहयोग अभियानका नाममा फर्जी पेज तथा समूह सञ्चालन गर्ने, राहत सहयोग दर्ताको बहानामा फोन गरी व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने र फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने प्रयास हुन सक्ने प्रहरीले जनाएको छ।

अपरिचित नम्बरबाट “म सुरक्षित छु, मलाई पैसा पठाइदिनु” भन्दै आर्थिक सहयोग माग्ने व्यक्तिहरूबाट समेत सावधान रहन प्रहरीले आग्रह गरेको छ।

नेपाल प्रहरीले सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता तथा अन्य विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट मात्र पुष्टि गर्न अनुरोध गरेको छ।

अपरिचित व्यक्ति वा पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न तथा फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी मागिएमा कुनै पनि विवरण उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ।

अपरिचित व्यक्तिले राहतका नाममा रकम मागेमा पैसा पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत अनिवार्य रूपमा पहिचान पुष्टि गर्नसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ।

विपद्को अवस्थामा राहत र सहयोगका नाममा स्क्याम भएको वा हुन लागेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल सम्पर्क गर्न समेत प्रहरीले आम नागरिकलाई आग्रह गरेको छ।

नेपाल प्रहरीले विपद्को घडीमा सहयोगको भावना र विश्वासको दुरुपयोग हुन नदिन डिजिटल कारोबारमा विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १:३० बजेसम्म विभिन्न जिल्लामा गरी २ सय ७० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार बाढी तथा पहिरोका कारण रसुवामा १७ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा १०८ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार विपद्को जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ। साथै, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ।

बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ। विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै सुरक्षा निकाय परिचालन गरिएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशले भोगिरहेको विपद्को घडीमा उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। उनले प्रभावित क्षेत्रमा यथाशीघ्र उद्धार तथा राहत पुर्‍याउन सरकार तीव्र गतिमा काम गरिरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले जानकारी दिएका छन्।

विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री तीव्र रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिन लगायतका सामग्री पठाइँदैछ।

प्रधानमन्त्री शाहले छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताएका छन्। यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको उनले जानकारी दिएका छन्। ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको र त्यसले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रधानमन्त्री शाहको भनाइ छ।

उद्धारका क्रममा हेलिकोप्टरबाट सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने उनले बताएका छन्। प्रभावित नागरिकलाई धैर्य तथा संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

“यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्। आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले विपद्को यस कठिन घडीमा सहयोग र सहकार्य गर्ने नेपालभित्र तथा विश्वभर रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

काठमाडौं । लगातारको वर्षा तथा बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडक सञ्चालन हुने जनाइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।

वर्षाका कारण इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलो भएपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने उपलब्ध रहेको जनाइएको छ।

यसैगरी, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–४ कुङ्ग्रीस्थित शहीद राजमार्ग पनि अविरल वर्षापछि सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएको छ।

यसैबीच, रसुवा क्षेत्रमा सीमावर्ती भूभागबाट आएको अप्रत्याशित बाढीका कारण पृथ्वी राजमार्गको गल्छी–स्यार्पुबेसी तथा मुग्लिन–नारायणघाट सडकखण्डलगायत त्रिशूली नदी आसपासका सडकमा समेत आवागमनमा रोक लगाइएको जनाइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को आदेश नभएसम्म सवारी सञ्चालन रोकिएको बताइएको छ।

बाढीका कारण धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा दुईतर्फी आवागमन अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा लेदो हटाउने काम भइरहेको छ। गजुरी–५ गलौंदीमा मेसिन लैजान नसकिएको जनाइएको छ भने गजुरी–६ जहरेखेत तथा बाङ्गेमोड र गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा पनि सडक प्रभावित भएको छ।

लगातारको वर्षाका कारण बाढी, पहिरो तथा सडक कटानको जोखिम बढेकाले सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।