
काठमाडाै । एनसेलले पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक तथा उन्नत प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटहरू पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ।
एनसेलका कुल ३,१२९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा साइट बन्द भइसकेका छन्। अब कम्पनीले बाँकी रहेका २,१३७ वटा साइटहरुमासमेत थ्रीजी सेवा बन्द गर्नेछ।
थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुरूप एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गर्दैछ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइटहरू बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइटहरू बन्द गरिनेछन्। त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइटहरू बन्द गरिनेछन्।
२०७४ मा सुरु भएको एनसेलको थ्रीजी सेवा यही पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ। यससँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट तथा उच्च गुणस्तरको भ्वाइस कल र छिटो कल कनेक्सनको अनुभव गर्न सक्नेछन्। भोल्टे प्रविधिबाट ग्राहकले भ्वाइस कल गर्दै एकै समयमा फोरजी डेटा पनि प्रयोग गर्न सक्नेछन्। भोल्टे चलाउनका लागि ग्राहकले फोरजी सिमका साथै यो सेवा चलाउन मिल्ने मोबाइल प्रयोग गर्नुपर्दछ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन्, “पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मतसम्भार लागत घटाउने योजना बमोजिम हामीले यो निर्णय लिएका हौं। थ्रीजी सेवा बन्द गर्ने यो प्रक्रियाले हाम्रा बाँकी ग्राहकलाई फोरजी प्रविधिमा आधारित सेवाहरूमा अपग्रेड हुने अवसर प्रदान गर्दछ। थ्रीजी सेवा बन्द भएपछि हामी भोल्टेसहितको फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधिका लागि तयार हुन सक्षम हुनेछौं।” उनले थपिन्, “थ्रीजी सेवा बन्द गर्ने क्रममा यसबाट कुनै पनि ग्राहक डिजिटल डिभाइडको जोखिममा नपरून् भन्नेमा एनसेल सचेत छ। फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले पनि टुजी नेटवर्कमार्फत आधारभुत अत्यावश्यक दूरसञ्चार सेवाहरू निरन्तर प्रयोग गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नेछौं।”
यस कदमले एनसेलको सेवा गुणस्तर थप सुधार गर्न, फोरजी नेटवर्कको क्षमता अभिवृद्धि गर्न र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले कम्पनीलाई भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न पनि मद्दत गर्नेछ। थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी सेवा थप सुदृढ बनाउन, नेटवर्क क्षमता बढाउन र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिने एनसेलले बताएको छ ।
हाल थ्रीजी सेवा प्रयोग गरिरहेका ग्राहक आधारभुत दूरसञ्चार सेवाबाट वञ्चित नहून् भन्ने सुनिश्चित गर्न एनसेलले आफ्नो टुजी नेटवर्कको उपलब्ध हुने स्पष्ट पारेको छ । टुजी नेटवर्कमार्फत ग्राहकले आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। एनसेलको फोरजी यसअघि नै नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पहुँच विस्तार भइसकेको छ। यो प्रविधिले ग्राहकलाई आधुनिक मोबाइल कनेक्टिभीटीको पहुँच सुनिश्चित गर्दछ ।
हाल एनसेलका कुल सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरिरहेका छैनन्। थ्रीजी सेवा बन्द हुने क्रममा ग्राहकलाई पर्न सक्ने असुविधा न्यूनीकरण गर्न कम्पनीले अझै थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा गएर आफ्नो सिमलाई फोरजीमा अपग्रेड गर्न सक्छन्। ग्राहकले फोरजी सिम लिदा सात दिन समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्दछन् ।
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको एक ट्युब बुधबार ब्रेक थ्रु भएको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गअन्तर्गत भीमफेदी र बकैया गाउँपालिकामा पर्ने महादेवटार सुरुङको जोडी सुरुङ (ट्विन ट्युब) मध्ये निजगढबाट काठमाडौं आउने ३ हजार ४२२ मिटर लामो सुरुङ आज मंसिर २ गते ब्रेक थ्रु भएको हो। ब्रेक थ्रु समारोह सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रधानसेनापति, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा संलग्न सैनिक तथा गैरसैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।
महादेवटार सुरुङको एक ट्युब ब्रेक थ्रु भएसँगै काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत सुरुङ निर्माण कार्यले थप उपलब्धि हासिल गरेको छ। आयोजनाअन्तर्गत ७ स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेकोमा हालसम्म धेद्रे, लेनडाँडा र महादेवटारका ३ स्थानमा रहेका ६ वटा सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।
त्यस्तै, आयोजनाका अन्य ४ स्थानमा रहेका ८ वटा सुरुङ निर्माणाधीन अवस्थामा छन्।
द्रुतमार्गमा सुरुङ तथा पुल निर्माणलाई प्रमुख चुनौती र महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ। सुरुङ निर्माणका कार्यहरू सम्पन्न हुँदै जाँदा काठमाडौं र तराई/मधेसबीचको दूरी तथा यात्रा समय घटाउने लक्ष्यसहित आयोजना निर्माणले गति लिने अपेक्षा गरिएको छ।
दाङ । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस बुधबार बिहान करिब ८:३० बजे दुर्घटनामा परेको हो।
बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए। दुर्घटनामा २२ जना घाइते भएको र उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा बाँकेको बैजनाथ गाउँपालिका–५ का दुई जना र बर्दियाको बाँसगढी नगरपालिका–३ का २० जना घाइते भएका छन्।
बसमा सवार अन्य ३१ यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।
दुर्घटनापछि प्रहरीले बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीविरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले जानकारी दिएको छ ।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा उनको पनि संलग्नताको दाबी गर्दै प्रहरीले पक्राउ पुर्जी लिएको हो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसीलगायतका व्यक्ति बुधबार बेलुका पक्राउ परेका थिए । त्यसबाहेक श्रम मन्त्रालय रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन्। चन्द्रनिगाहपुरबाट जिप चढेकी अर्की मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन्।
आज बिहान करिब ८:५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०/२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो।
घटनास्थलमा स्थानीय बासिन्दा तथा प्रहरी चौकी भैंसेको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




