
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार यादव र मधुकरलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँसमेत बरामद भएको आयोगले जनाएको छ।
उनीहरूलाई असोज २० गते मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको थियो। असोज २१ गते विशेष अदालतको आदेशबाट घुससम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत सर्वेक्षक शिव कुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई साहले घुस मागेको उजुरी परेको थियो।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा साहले नक्सा ट्रायल चेक तथा संशोधन गर्ने काममा आलटाल गरी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा सोही उपदफाको देहाय (ख) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।
साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
दसैँ नजिकिँदै गर्दा बैंकिङ प्रणालीमा नगदको माग बढ्ने भएको छ । चाडपर्वका समयमा हुने किनमेल तथा अन्य कारोबारका लागि नगदको प्रयोग बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत नोटको सहज उपलब्धताको तयारी गरेको छ ।
यसपटक सर्वसाधारणले केही बैंक तथा वित्तीय संस्थाका एटीएमबाटै १०० रुपैयाँ दरका नयाँ नोट प्राप्त गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपयुक्त स्वचालित नगद झिक्ने मेसिन (एटीएम) प्रयोग गरी १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्देशनअनुसार केही बैंक तथा वित्तीय संस्थाले एटीएममार्फत नयाँ नोट वितरण सुरु गरिसकेका छन् ।
राष्ट्र बैंकले भने दसैँका लागि नयाँ नोट मात्रै बजारमा पठाउने नीति लिएको छैन । चलनचल्तीमा रहेका सुकिला तथा सफा नोटलाई समेत बजारमा पर्याप्त रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकमार्फत सर्वसाधारणले सुकिला र सफा नोट सटही गर्न सक्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नोट सटही नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले यसका लागि छुट्टै सूचना आवश्यक नठानिएको हो । उनका अनुसार पछिल्ला चार–पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका लागि ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई क्रमशः घटाउँदै लगेको छ ।
नयाँ नोटको माग पूरा गर्न ठूलो मात्रामा नोट छाप्नेभन्दा चलनचल्तीमा रहेका सुकिला नोटलाई पुनः प्रयोगमा ल्याउने नीतिलाई राष्ट्र बैंकले प्राथमिकता दिएको छ । यसले नोट व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै नयाँ नोट छपाइ तथा व्यवस्थापनमा हुने खर्चसमेत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस वर्ष चाडपर्वको मुखमै भोटेकोशी क्षेत्रमा बाढीबाट ठूलो जनधनको क्षति भएकाले नयाँ नोट वितरणलाई लिएर विगतमा जस्तो व्यापक प्रचारप्रसार नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
एटीएमबाट १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउने व्यवस्था भए पनि सबै नोट सटही केन्द्रबाट नयाँ नोट मात्रै पाइने भने होइन । बैंक तथा राष्ट्र बैंकका कार्यालयमार्फत सटही गर्दा नयाँ नोटसँगै सुकिला तथा सफा नोटसमेत उपलब्ध गराइनेछ । त्यसैले नोट सटही गर्न जाने सर्वसाधारणले नयाँभन्दा सुकिला नोट बढी पाउन सक्ने अवस्था पनि रहनेछ ।
काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेललाई अविस्मरणीय बनाएका छन्। कप्तान मेसीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गर्दा अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा बेनिनलाई ३–० ले पराजित गरेको छ।
बुधबार बिहान ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भएको खेल मेसीका लागि अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल थियो। ८५ हजारभन्दा बढी समर्थकको उपस्थितिमा भएको भावुक बिदाइ खेलमा मेसीले अर्जेन्टिनाका तीनै गोलमा प्रत्यक्ष भूमिका निर्वाह गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले दोस्रो हाफमा तीन गोल गरेको थियो। खेलको ४८औँ मिनेटमा मेसीको पासमा निकोलस ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
त्यसपछि ६१औँ मिनेटमा मेसीकै पासमा निको पाजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। ७१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्दै अर्जेन्टिनाको ३–० को जित सुनिश्चित गरे।
यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १२६ पुर्याए। उनले राष्ट्रिय टोलीबाट कीर्तिमानी २०८ खेल खेल्दै २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम लगाएका हुन्।
मेसीको बिदाइलाई विशेष बनाउन स्टेडियममा विभिन्न सम्मान कार्यक्रम आयोजना गरिएको थियो। खेलको १०औँ मिनेटमा उनको प्रसिद्ध जर्सी नम्बर १० को सम्मानमा खेल रोकेर समर्थकले विशेष अभिवादन गरेका थिए। खेलपछि ड्रोन शोमार्फत पनि मेसीप्रति सम्मान व्यक्त गरिएको थियो।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मेसीले राष्ट्रिय टोलीबाट दुई कोपा अमेरिका उपाधिसमेत जितेका छन्। उनको बिदाइसँगै अर्जेन्टिनी फुटबलमा दुई दशकभन्दा लामो एउटा ऐतिहासिक अध्याय समाप्त भएको छ।
रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ।
‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।
प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन्।
त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु) उम्मेदवार छन्। उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी दिएका छन्।
वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।
२० बुँदे प्रतिबद्धतामा व्यवसाय सुरक्षा र आर्थिक समृद्धि
प्यानलले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ।
व्यवसाय दर्ता, नवीकरण तथा प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा बन्द हुने वा विस्थापनको जोखिममा रहेका उद्योगको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनालाई समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग पहल तथा दबाब दिने विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।
व्यवसायीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, बुटवललाई लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने तथा पर्यटन र व्यापारबीचको अन्तरसम्बन्ध विस्तार गर्ने लक्ष्य प्यानलले अघि सारेको छ।
त्यस्तै, डिजिटल भुक्तानी र अनलाइन व्यापारलाई प्रवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जाका विषयमा नियमित संवाद गर्ने तथा भन्सार एवं आयात–निर्यात प्रक्रियालाई सहज बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्थानीय उत्पादनको बजार विस्तार, युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण र महिला उद्यमीको पहुँच विस्तारलाई पनि प्यानलले प्राथमिकतामा राखेको छ।
संस्थागत पारदर्शिता कायम गर्ने, लगानी प्रवर्द्धन गर्ने तथा संघभित्र व्यवसायीका समस्या समाधानका लागि एकद्वार सहायता प्रणाली स्थापना गर्ने विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।
पौडेल नेतृत्वको टोलीले प्रतिबद्धता पत्रलाई केवल चुनावी घोषणामा सीमित नराखी बुटवलका उद्योगी–व्यवसायीको साझा एजेन्डाका रूपमा कार्यान्वयन गर्ने जनाएको छ। संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीका आधारमा संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै टोलीले उद्योगी तथा व्यवसायीसँग समर्थन माग्दै अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपील गरेको छ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको बढुवा तथा कूटनीतिक विषयसम्मका महत्वपूर्ण निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले भूमि, वन तथा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरिएको छ। मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णयसमेत गरेको छ।
बैठकले उच्च तहका कर्मचारीको बढुवासम्बन्धी निर्णय पनि गरेको छ। सहसचिव (प्रा.) नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।
त्यस्तै, सहसचिव चक्र बहादुर बुढालाई नेपाल प्रशासन सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।
यसैगरी, नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका हुन् ।
उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए । सभापति पदमा राठोरसहित गगन थापा र श्याम खड्गीको उम्मेदवारी परेको थियो ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।
बडादशैंको टीकाको लागि नेपालमा उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।
त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।
साइत हेर्नुहाेस् ।






