२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

काठमाडौँ । सरकारले बिमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सोमबारदेखि यसको परीक्षण पनि सुरु भइसकेको छ ।

सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो । “हालसम्म सबै सर्भेयरको तथ्याङ्क प्रणालीमा प्रविष्ट भई असोज १२ गते साँझदेखि परीक्षण सुरु भइसकेको छ”, बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले भन्नुभयो । 

सुदेवीका अनुसार नयाँ स्वचालित प्रणालीका सम्बन्धमा निर्जीवन बिमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइएको छ । त्यसपछि सर्भेयरलाई पनि स्वचालित प्रणालीसम्बन्धी तालिम दिइनेछ । त्यसैगरी यस प्रणालीमा पुनरबिमा कम्पनीलाई पनि समेट्ने योजना छ ।

सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने उद्देश्यले उक्त प्रणालीको विकास गरिएको हो । हाल सर्भेयर छनोट गर्दा वैज्ञानिक र पारदर्शी नहुने, एउटै सर्भेयरले बढी र कम काम पाउनेलगायतका गुनासो आउने गरेको सन्दर्भमा यो प्रणालीको विकासले महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था भए पनि उनीहरूले पाएको कामको प्रभावकारी तथ्याङ्क राख्न  कठिन भइरहेको अवस्था छ । हाल यस प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० सर्भेयरको तथ्याङ्क प्रविष्ट भइसकेको छ ।

त्यसैगरी बिमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको छ । यही अवस्थालाई सुधार गर्दै सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जबाफदेहिता कायम गर्ने उद्देश्यले प्राधिकरणले स्वचालित प्रणाली विकास अघि बढाएको हो ।

प्राधिकरणका अनुसार नयाँ प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरण प्रविष्टको काम काम पूरा भइसकेको छ । कुनै बिमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित ‘केस’का लागि कुन सर्भेयर उपयुक्त हुन्छ भन्ने निर्णय प्रणालीले तोकिएका मापदण्डका आधारमा गरिनेछ ।

इटहरी । युवालाई बजारको मागअनुसार आवश्यक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सञ्चालन भएको मेला असोज २० गतेसम्म जारी रहनेछ। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा अघि सारेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई कार्यान्वयनको तहमा लैजाने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

मेलामा युवाको सीप पहिचान, सीप परीक्षण तथा अभिलेखीकरण गरी उनीहरूलाई रोजगारदाता, तालिम प्रदायक र रोजगारीका अवसरसँग प्रत्यक्ष सम्पर्क गराउने व्यवस्था गरिएको छ। साथै, तालिमका लागि सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन तथा रोजगार मिलानसम्बन्धी गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

युवालाई रोजगारीसँगै उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत आयोजना गरिनेछ।

मेलामा रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रमसँगै युवाका लागि एकीकृत सूचना, परामर्श र रोजगारीसम्बन्धी सेवाहरू उपलब्ध गराइनेछन्।

कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको यस कार्यक्रमलाई सरकारले आगामी दिनमा क्रमशः देशका अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना बनाएको छ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकास र नीति निर्माणमा योगदान दिन आग्रह गर्नुभएको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ सोच र विकासका योजनामा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

छलफलमा प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो प्राविधिक विज्ञतालाई देश विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो।

“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भन्नुभयो।

उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री शाहले सांसदहरूलाई परिवर्तनका संवाहक का रूपमा उल्लेख गर्दै नयाँ सोच, प्रविधि र प्रभावकारी उपायमार्फत मुलुकको विकासलाई गति दिनुपर्नेमा जोड दिनुभयो।

नयाँ उपाय पहिचान गरी त्यसको कार्यान्वयनमा निरन्तर लाग्न सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको थियो।

काठमाडौं । थारु महिला सभा उपत्यका समितिले यस वर्षको जितिया पर्व काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा मनाउने भएको छ। सभा समितिका अनुसार कार्यक्रम असोज १८ गते आइतबार बिहान ११ बजे सुरु हुनेछ।

कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोध सिंह थारु प्रमुख अतिथिका रूपमा सहभागी हुने थारु महिला सभाले जनाएको छ।

देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष जितिया पर्वलाई विगतको भन्दा फरक र सन्देशमूलक ढंगले मनाउने तयारी गरिएको छ। विशेषगरी भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिने आयोजकले जनाएको छ।

त्यसैगरी बाढीपहिरो तथा विपद्का कारण प्रभावित मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्ने तथा सांस्कृतिक कार्यक्रमलाई समेत सामाजिक सन्देश र जिम्मेवारीबोधसँग जोडेर प्रस्तुत गरिने बताइएको छ।

थारु समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको जितियालाई यस वर्ष उत्सवसँगै सामाजिक एकता, मानवीय संवेदना र विपद्प्रति सामूहिक जिम्मेवारीको सन्देश दिने अवसरका रूपमा मनाउने तयारी गरिएको आयोजकको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।