
काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले गत भदौमा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बागमती प्रदेशका ललितपुर र चितवन, गण्डकी प्रदेशका नवलपुर र लमजुङ तथा लुम्बिनी प्रदेशका कपिलवस्तु र पाल्पाका विभिन्न स्थानमा नयाँ साइट सञ्चालन गरिएको हो।
यस्तै, कर्णाली प्रदेशअन्तर्गत जुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, डडेल्धुरा र दार्चुलामा पनि नयाँ मोबाइल साइट थपिएका छन्।
नयाँ साइट सञ्चालनसँगै सम्बन्धित क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउने टेलिकमले जनाएको छ। सेवा नपुगेका तथा थप विस्तार आवश्यक रहेका क्षेत्रमा आगामी दिनमा पनि क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ।

काठमाडौं । देशभर जारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्च सतर्कताका साथ उद्धार तथा प्रतिकार्यको तयारी तीव्र बनाएको छ।
कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै मन्त्रालय र मातहतका निकायलाई पूर्ण रूपमा परिचालन गरिएको बताउनुभएको छ। स्थानीय तहलाई समेत विपद्पछिको प्रतिकार्यमा आवश्यक स्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला सुरक्षा समितिको बैठक गरी सेना, प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा सचेतनामूलक माइकिङ गर्ने तथा अस्पताल, एम्बुलेन्स र स्वास्थ्य केन्द्रलाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राखिएको छ।
यस्तै, सरकारले पर्यटक उद्धार, आन्तरिक उडानमा सुरक्षा मापदण्ड, विद्यालय तथा परीक्षा व्यवस्थापन, स्वास्थ्य सेवा, खाद्यान्न र इन्धनको आपूर्ति, विद्युत् तथा सडक सञ्चालनलगायतका क्षेत्रमा समेत विशेष तयारी गरेको जनाएको छ। जोखिमयुक्त सडकखण्डमा भारी उपकरण तयारी अवस्थामा राखिएको छ भने नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा पूर्वसूचनासहितका सन्देश पठाउने व्यवस्था गरेको छ।
आपत्कालीन अवस्थामा जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने सरकारले जनाएको छ।
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् निम्तिन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई ध्यानमा राख्दै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई आवश्यक पूर्वतयारी र प्रतिकार्यको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्न भनेको छ । प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय र सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को सूचना निरन्तर संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न भनिएको छ ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र स्वास्थ्य संस्थाको तयारी अवस्था तथा आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि विभागलाई भनिएको छ ।
प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न पनि उनीहरूलाई अनुरोध गर्न भनिएको छ ।
मन्त्रालयका अनुसार आकस्मिक स्वास्थ्य समस्या वा विपद्का कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।
काठमाडौँ । सामसङ नेपालले आफ्नो लोकप्रिय Galaxy S सिरिजमा नयाँ स्मार्टफोन Galaxy S26 FE सार्वजनिक गरेको छ।
One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको यो डिभाइसले प्रिमियम प्रविधि, उन्नत क्यामेरा र नयाँ Galaxy AI सुविधालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउने कम्पनीको विश्वास छ।
पातलो र हल्का डिजाइनमा तयार गरिएको Galaxy S26 FE मा प्रयोगकर्ताले दैनिक जीवनमा सबैभन्दा बढी प्रयोग गर्ने सुविधाहरूलाई प्राथमिकता दिइएको सामसङले जनाएको छ। कम्पनीका अनुसार यो स्मार्टफोनले फोटो खिच्ने, भिडियो बनाउने, सामग्री सिर्जना गर्ने तथा दैनिक काम व्यवस्थित गर्ने अनुभवलाई अझ सहज बनाउनेछ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX प्रणय रत्न स्थापितले Galaxy S26 FE केवल नयाँ स्मार्टफोन मात्र नभई प्रयोगकर्ताको दैनिक जीवनलाई थप स्मार्ट बनाउने उपकरण भएको बताए। उनका अनुसार Galaxy S सिरिजका विशेष फिचरहरू अझ बढी ग्राहकसम्म पुर्याउने उद्देश्यले यो मोडेल ल्याइएको हो।
फोटो र भिडियो खिच्ने अनुभव अझ उत्कृष्ट
Galaxy S26 FE मा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ प्रविधि समावेश गरिएको छ। यसले स्थिर तस्बिरदेखि तीव्र गतिमा भइरहेका गतिविधिसम्म स्पष्ट र जीवन्त रूपमा कैद गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।
यसमा समावेश गरिएको My FanCam फिचरले भिडियो खिच्दा छनोट गरिएको व्यक्तिलाई स्वतः ट्र्याक गर्दै फ्रेमको केन्द्रमा राख्छ। कार्यक्रम, खेलकुद वा अन्य गतिविधिमा कुनै विशेष व्यक्तिलाई केन्द्रमा राखेर भिडियो बनाउन चाहने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने बताइएको छ।
त्यसैगरी, Super Steady with Horizontal Lock फिचरले दौडधुप वा हिँडडुलकै क्रममा खिचिएका भिडियोलाई पनि स्थिर र सन्तुलित राख्न सहयोग गर्छ। स्मार्टफोनमा रहेको 3x Optical Zoom ले टाढाका दृश्यलाई गुणस्तर नघटाई नजिकबाट खिच्न सकिने सुविधा प्रदान गर्छ।
राति वा कम प्रकाश भएको वातावरणमा फोटो खिच्न रुचाउने प्रयोगकर्ताका लागि सामसङको Nightography प्रविधि थप आकर्षण बनेको छ। यसले अँध्यारो अवस्थामासमेत उज्यालो, स्पष्ट र विस्तृत तस्बिर खिच्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
दैनिक कामलाई सहज बनाउने Galaxy AI
Galaxy S26 FE मा नयाँ One UI 9 आधारित Galaxy AI फिचरहरू समावेश गरिएका छन्। यी सुविधाले प्रयोगकर्ताको आवश्यकता र बानीअनुसार जानकारी उपलब्ध गराउने तथा विभिन्न कामलाई व्यवस्थित गर्न सहयोग गर्ने बताइएको छ।
यसमा रहेको Now Brief फिचरलाई अझ व्यक्तिगत बनाइएको छ। प्रयोगकर्ताले मौसम, स्वास्थ्य, दैनिक तालिका लगायत आफूलाई आवश्यक जानकारी समेटिएका कार्डहरू छनोट गर्न सक्नेछन्। साथै सामान्य निर्देशनमार्फत आफ्नै आवश्यकता अनुसार नयाँ कार्ड पनि सिर्जना गर्न सकिने सुविधा उपलब्ध छ।
मूल्य, रंग र विशेष अफर
Galaxy S26 FE (8GB RAM/256GB Storage) नेपालमा Pistachio, Graphite र Blueberry रंगमा उपलब्ध हुनेछ। यसको खुद्रा मूल्य रु १ लाख १९ हजार ९९९ तोकिएको छ। ग्राहकहरूले १२ महिनाको EMI सुविधाअन्तर्गत मासिक रु ६ हजार तथा २४ महिनाको EMI सुविधाअन्तर्गत रु ३ हजार २५६ किस्ता तिर्न सक्नेछन्।
स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि सामसङले केही आकर्षक अफर पनि ल्याएको छ। पुरानो फोन साटेर नयाँ Galaxy S26 FE खरिद गर्दा रु ८ हजारसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ। साथै करिब रु १८ हजार ३५१ मूल्य बराबरको ६ महिनाको Google AI Pro Subscription निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सामसङका अनुसार Galaxy S26 FE ले शक्तिशाली क्यामेरा, कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट सुविधा र प्रिमियम डिजाइनलाई एउटै डिभाइसमा समेट्दै फ्ल्यागशिप स्मार्टफोन अनुभवलाई अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका अनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्रै सञ्चालन हुने छैनन् भने असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्। नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
वर्षाका कारण उत्पन्न हुन सक्ने प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकता दिन विद्यालय तथा अभिभावकलाई आग्रह गरेको छ।
त्यस्तै, विद्यार्थीलाई खोला, नदी तथा डुबानको सम्भावना भएका क्षेत्रसँगै अन्य जोखिमयुक्त स्थानमा जान नदिन र मौसमको अवस्था हेरेर आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
उपमहानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्दै तोकिएको मितिमा पठनपाठन बन्द गर्न निर्देशन दिएको जनाएको छ।
नुवाकोट । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको छ।
बाढीले क्षति पुर्याएका पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी हिजै जाली राख्ने कार्यसमेत पूरा गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिएको जनाएको छ।
यसैक्रममा धादिङ, नुवाकोट र गोरखामा रहेका थप १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।
काठमाडौं । नेपाली इनर्जी ड्रिंक बजारमा नयाँ ब्रान्डका रूपमा प्रवेश गरेको ‘एक्सट्रिम’ले बजार विस्तारसँगै आफ्नो ब्रान्ड पहिचान बलियो बनाउन मार्केटिङ र खेलकुद प्रायोजनलाई प्राथमिकता दिएको छ।
एग्रो थाई फुड्स प्रालिले उत्पादन गर्दै आएको एक्सट्रिमले बजारमा आफ्नो उपस्थितिलाई व्यापक बनाउन विभिन्न माध्यमबाट ब्रान्डिङ गरिरहेको छ। सामान्य खुद्रा पसलदेखि सुपरमार्केटसम्म उत्पादनको उपलब्धता बढाउनुका साथै प्रत्यक्ष उपभोक्ता सम्पर्क र डिजिटल प्रचारलाई पनि रणनीतिको हिस्सा बनाइएको कम्पनीको भनाइ छ।
वर्षौंदेखि स्थापित ब्रान्डको प्रभाव रहेको इनर्जी ड्रिंक बजारमा प्रतिस्पर्धा गरिरहेको एक्सट्रिमको मार्केटिङ रणनीति सोनिया रानाले नेतृत्व गर्दै आएकी छन्। कम्पनीले गुणस्तर, बजार उपलब्धता र निरन्तर ब्रान्डिङलाई आफ्नो विस्तारको मुख्य आधारका रूपमा अघि सारेको जनाएको छ।
युवालाई प्रमुख लक्षित उपभोक्ता समूह मानेको एक्सट्रिमले खेलकुद क्षेत्रमा पनि उल्लेख्य लगानी गर्दै आएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार खेलकुदमार्फत टेलिभिजन, डिजिटल प्लेटफर्म र प्रत्यक्ष दर्शकसम्म एकैपटक पुग्ने अवसर भएकाले यस क्षेत्रमा लगानी बढाइएको हो। एनपीएलसँगै अन्य खेलकुद गतिविधिमा समेत एक्सट्रिमको प्रायोजन देखिँदै आएको छ।
मार्केटिङ रणनीतिमा खेलकुद, डिजिटल माध्यम र प्रत्यक्ष उपभोक्ता सम्पर्कलाई जोड्दै एक्सट्रिमले स्थापित ब्रान्डसँग प्रतिस्पर्धाका लागि आफ्नो बजार विस्तारलाई तीव्र बनाएको छ।
उत्पादनको गुणस्तर र उपलब्धतासँगै निरन्तर ब्रान्डिङमार्फत उपभोक्ताको रोजाइमा स्थान बनाउने प्रयासलाई कम्पनीले आफ्नो दीर्घकालीन बजार रणनीतिको हिस्सा बनाएको जनाएको छ।
काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै जाँदा भदौ १ यता ७ जनाको मृत्यु भएको छ। मृतकमध्ये केहीमा स्क्रब टाइफस पुष्टि भएको थियो भने केहीमा लक्षण देखिएको थियो।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार वडा नं. १, ५ र ६ बढी प्रभावित छन्। असोज ५ गतेसम्म दार्मामा १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल सल्यानका अनुसार दार्मा र बागचौर क्षेत्रमा मात्रै हालसम्म करिब १९० जनामा संक्रमण देखिएको छ।
मृत्यु हुनेमा १२ वर्षीय बालकदेखि ८२ वर्षीय वृद्धसम्म छन्। अधिकांश मृतकमा मधुमेह, उच्च रक्तचाप, कलेजो, मिर्गौला वा दमजस्ता अन्य स्वास्थ्य समस्या पनि रहेको जनाइएको छ।
प्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। हालसम्म ४५० वटा परीक्षण किट दार्मामा पठाइएको भए पनि थप कम्तीमा १ हजार किट आवश्यक रहेको स्थानीय तहले जनाएको छ।
निजी स्वास्थ्य संस्थामा समेत परीक्षण भइरहेकाले संक्रमितको संख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ।
काठमाडौं । आज संघीय संसदमा दुवै सदनको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले ‘नि: शुल्क कानुनी सहायता सम्बन्धि विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी आज राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदैछ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । भारी वर्षाको पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई अनुरोध गरेको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुनसक्ने जोखिम रहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न तथा बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन अभिभावकलाई मन्त्रालयले अनुरोध गरेको छ ।






