२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

व्यावसायिक भिसाको दुरुपयोग गरेको भन्दै ८८ विदेशी नागरिकको भिसा रद्द

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित निर्माणाधीन जियान फुड्स प्रा.लि.मा कार्यरत ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरिएको छ ।

छेन्दु टाइन फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको जियान फुड्स प्रा.लि. (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्स्पोर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत विदेशी नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर भिसाको उद्देश्यविपरीत काम गरेको पाइएको भन्दै अध्यागमन विभागले उनीहरूको भिसा रद्द गरेको हो ।

अध्यागमन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई प्रचलित अध्यागमन ऐन, २०४९ बमोजिम जरिबाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

विभागका अनुसार पछिल्लो अनुगमनका क्रममा केही विदेशी नागरिकहरू आफूले भिसा प्राप्त गर्न सिफारिस तथा स्वीकृति लिएको व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम तथा अन्य कार्यमा संलग्न भएको पाइएको थियो । त्यसपछि विभागले सम्बन्धित निकायसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिक वा त्यस्ता संस्थाका अधिकृत प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी गर्ने व्यवस्था छ । नेपालमा उत्पादित वस्तु खरिद गरी निकासी गर्ने विदेशी नागरिकलाई समेत व्यावसायिक भिसा उपलब्ध गराउने कानुनी व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।

अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएको हो, सोही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने हुन्छ । व्यावसायिक भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यमा प्रयोग गर्न पाइँदैन ।

अध्यागमन विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्र गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । साथै, उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र आवश्यक स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन सचेत गराएको छ ।

विभागले अध्यागमन कानुन तथा अन्य प्रचलित कानुनविपरीतका गतिविधिमा विदेशी नागरिक वा सम्बन्धित पक्ष संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।