२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

काठमाडौं । सिंगापुर एयरलाइन्स सन् २०२६ को विश्वकै उत्कृष्ट एयरलाइन्स घोषित भएको छ। स्काइट्र्याक्स वर्ल्ड एयरलाइन्स अवार्ड्समा सिंगापुर एयरलाइन्सले पहिलो स्थान हासिल गरेको हो। योसँगै उसले छैटौँ पटक विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको छ।

विश्वभरका ३०० भन्दा बढी एयरलाइन्सको मूल्यांकनबाट तयार गरिएको सूचीमा कतार एयरवेज दोस्रो र क्याथे प्यासिफिक तेस्रो स्थानमा छन्। जापानको एएनए चौथो तथा टर्किस एयरलाइन्स पाँचौँ स्थानमा रहेका छन्।

सिंगापुर एयरलाइन्सले उत्कृष्ट एयरलाइन्सको अवार्डसँगै उत्कृष्ट इकोनोमी क्लास र उत्कृष्ट इकोनोमी क्लास अनबोर्ड क्याटरिङको अवार्डसमेत जितेको छ।

यसैगरी, मलेसिया एयरलाइन्सले एसियाकै उत्कृष्ट एयरलाइन्स स्टाफ सेवाको अवार्ड पाएको छ भने एयर एसिया विश्वकै उत्कृष्ट कम लागतको एयरलाइन्स बनेको छ। एयर एसियाले यो उपाधि सन् २०१० देखि लगातार जित्दै आएको जनाइएको छ।

काठमाडौं । नेपालको अर्थतन्त्रका केही प्रमुख सूचकमा सुधार देखिएको छ। मूल्यवृद्धि (मुद्रास्फीति) ५.९६ प्रतिशत रहेको छ भने देशमा रहेको विदेशी मुद्रा सञ्चिति बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार उक्त विदेशी मुद्रा सञ्चितिले करिब १८.८ महिनासम्म देशको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेको छ। अमेरिकी डलरमा भने विदेशी मुद्रा सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ।

विदेशबाट नेपालीहरूले नेपाल पठाउने रकम अर्थात् रेमिट्यान्स पनि बढेको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो अवधिको तुलनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १०.२ प्रतिशतले बढेको हो।

त्यस्तै, विदेशमा निर्यात ६१.७ प्रतिशतले बढेको छ। विदेशबाट नेपालमा सामान ल्याउने आयात भने ३१ प्रतिशतले बढेको छ।

देशले विदेशबाट कमाएको र विदेशमा खर्च गरेको रकमको हिसाबमा पनि अवस्था सकारात्मक देखिएको छ। चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ। 

सरकारको आम्दानी र खर्चतर्फ पनि तथ्यांक सार्वजनिक भएको छ। यस अवधिमा नेपाल सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ भने ९२ अर्ब २३ करोड रुपैयाँ राजस्व उठाएको छ।

बैंक तथा वित्तीय संस्थामा रहेको कुल रकम अर्थात् निक्षेप भने समीक्षा अवधिमा ०.३ प्रतिशतले घटेको छ। तर एक वर्षको तुलना गर्दा निक्षेप १४.५ प्रतिशतले बढेको छ। त्यस्तै, निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा ०.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा कर्जाको वृद्धि ७ प्रतिशत रहेको छ।

बैंकहरूबीच हुने कारोबारमा प्रयोग हुने औसत ब्याजदर २.७५ प्रतिशत रहेको छ। त्यस्तै, वाणिज्य बैंकहरूले ग्राहकबाट लिने निक्षेपको औसत ब्याजदर ३.१५ प्रतिशत र ऋण दिँदा लिने औसत ब्याजदर ६.४८ प्रतिशत रहेको छ।

समग्रमा हेर्दा विदेशी मुद्रा सञ्चिति, विप्रेषण, निर्यात, चालु खाता र शोधनान्तर बचतजस्ता क्षेत्रमा सकारात्मक अवस्था देखिएको छ। 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणमा ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज असोज ३ गते ताप्लेजुङदेखि कैलालीसम्मका ४३ जिल्लामा वडा अधिवेशन सुरु भएको थियो। अधिवेशनपछि ती वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन्।

केन्द्रीय निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन असोज ४ गते पनि जारी रहने जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुँदैछ। वडा अधिवेशनबाट चयन भएका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिले त्यसपछिका अधिवेशन प्रक्रियामा सहभागिता जनाउनेछन्।

केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको जनाइएको छ।

रोल्पा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रोल्पा जिल्लाका अधिकांश वडामा वडा अधिवेशन सुरु भएको छ।

रोल्पामा रहेका ७२ वडामध्ये अधिकांश वडामा वडा अधिवेशन प्रक्रिया सुरु भएको नेपाली कांग्रेसले जनाएको छ। वडा अधिवेशनका लागि जिल्लाभर कुल ५ हजार ५ सय ६६ जना क्रियाशील सदस्य मतदाता रहेका छन्।

अधिवेशनबाट वडा तहको नयाँ नेतृत्व चयनसँगै क्षेत्रीय तथा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढ्नेछ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिइसकेका छन्। निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका आवश्यक तयारीसमेत पूरा गरेका छन्।

समितिले निर्वाचनसम्बन्धी कुनै पनि अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै निर्धारित मितिमा हुने वडा अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तह र निकायलाई अनुरोध गरेको हो।

केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन्।

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपास तथा ब्यान्ड प्रदर्शन गरेका थिए। विभिन्न सांस्कृतिक समूह र विद्यार्थीहरूले झाँकी तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

दिवसका अवसरमा राष्ट्रपति पौडेलले संविधानको पूर्ण कार्यान्वयन, विधिको शासन, सुशासन र नागरिकका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैअनुसार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सामाजिक न्याय तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्।

यसैगरी, राष्ट्रपति कार्यालय शीतल निवासमा पनि विशेष समारोह आयोजना गरिएको छ। प्रदेश तथा स्थानीय तह, राजनीतिक दल, संघसंस्था र विभिन्न नागरिक समूहले समेत संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ।

काठमाडौँ । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र  सरल बनाउनु रहेको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर बिजनेस फिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।

नेपालका विभिन्न भागमा यात्रा गर्दा सञ्चारको महत्वपूर्ण आवश्यकतालाई यसले सम्बोधन गर्छ। साझेदारीअन्तर्गत एनसेलले पर्यटकहरूलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूमाझ एनसेलका सेवा सुविधाका बारेमा जानकारी र सूचना उपलब्ध गराउने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दत्ताले भने, “देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकहरूको यात्रा अनुभव अविश्मरणीय बनाउने विश्वास लिएका छौं । यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवद्र्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

“पर्यटनको मर्म भनेकै एक अर्कासँग जोडिनु हो। मानिसहरूलाई मानिसहरूसँग जोड्नु, संस्कृति अनि अनुभवहरूलाई जोड्नु हो। नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ,” नाटोका अध्यक्ष श्रेष्ठले भने।

दूरसञ्चार सेवामात्र नभएर, एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न सहयोग गर्नेछ। यसको सुरुवात धादिङ जिल्लाको गजुरीबाट पाइलट परियोजनाका रूपमा हुनेछ।

यस पहलले यी मार्गहरूमा यात्रा गर्ने पर्यटक र स्थानीय समुदायलगायत सबैको सुविधाको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दछ र साथै दुवै संस्थाको नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रति साझा प्रतिबद्धता रहेको देखाउँछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।