२०८३ आश्विन २० मंगलवार
Search
२०८३ आश्विन २० मंगलवार

काठमाडौं । प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बुधबार ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ।

कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहास अनुसन्धान तथा अभिलेखीकरणको काम कर्णालीबाट सुरु हुनु खुसीको विषय भएको बताउनुभयो।

उहाँले सीमित स्रोतसाधनका बाबजुद कर्णालीको धर्म, संस्कृति र इतिहाससँग जोडिएका विषयलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने धारणा व्यक्त गर्नुभयो।

पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ र सीमित स्रोतसाधनका बीच पुस्तक तयार पारिएको बताउनुभयो। पुस्तकमा रहेका कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य मनऋषि धितालले पुस्तकका विषयवस्तु र कर्णालीको पत्रकारिताका विभिन्न पक्षबारे समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।

कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरू मनऋषि धिताल, समीरजंग शाह, रुद्र खड्का, डा. मानबहादुर रोकाय, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मण केसी, राजबहादुर शाही, हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारितासम्बन्धी आफ्ना अनुभव तथा धारणा राख्नुभएको थियो।

कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो। उहाँले पुस्तक लेखन, सम्पादन तथा प्रकाशनका विभिन्न चरणमा भएको मेहनतको स्मरण गर्दै यस कार्यमा संलग्न सबैप्रति आभार व्यक्त गर्नुभयो।

त्यस्तै, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तक प्रकाशनको सन्दर्भमा संक्षिप्त जानकारी दिनुभएको थियो। कार्यक्रममा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीका विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको उपस्थिति थियो।

काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि त्रिभुवन विश्वविद्यालयले ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

विश्वविद्यालयले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा र भाषा परीक्षण सेवा सञ्चालनका लागि संस्था दर्ता प्रक्रिया खुला गरेको छ।

मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले सूचना जारी गर्दै सम्बन्धित नियमावलीअनुसार सेवा सञ्चालनको अनुमति माग गर्ने संस्थालाई CIMS पोर्टलमार्फत अनलाइन आवेदन दिन आग्रह गरेको हो। सूचना पहिलोपटक २०८३ भदौ ३० गते प्रकाशित गरिएको छ।

सूचनाअनुसार आवेदनका लागि कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान), कर चुक्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८२/८३ सम्मको कम्पनी अद्यावधिक प्रमाणलगायत आवश्यक कागजात पेश गर्नुपर्नेछ।

शैक्षिक परामर्श सेवाका लागि स्नातक उत्तीर्ण गरी तालिम प्राप्त जनशक्तिको नियुक्तिसहितका कागजात तथा भाषा परीक्षणका लागि सम्बन्धित निकायबाट प्राप्त अनुमति र प्रशिक्षकको योग्यता तथा तालिमसम्बन्धी प्रमाणपत्रसमेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रदेश वा स्थानीय तहबाट शैक्षिक परामर्श सेवा सञ्चालनको अनुमति पाइसकेका संस्थाले थप आवश्यक कागजातसहित CIMS पोर्टलमा ‘Province Approval’ मा आवेदन पेश गर्नुपर्नेछ। प्रदेश वा स्थानीय तहबाट अनुमति/स्वीकृति लिएको प्रमाणपत्र २०८३ असार २५ गतेभन्दा अगाडि प्राप्त भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दस्तुरबापत रु. ५ हजार बुझाउनुपर्नेछ। मन्त्रालयको निर्णय प्रक्रियामा रहेका पुराना निवेदकका हकमा भने पुनः आवेदन दस्तुर नलाग्ने मन्त्रालयले जनाएको छ। दस्तुर भुक्तानीका लागि तोकिएको सरकारी भुक्तानी प्रणालीमार्फत रकम बुझाई EBP नम्बर प्रविष्ट गर्नुपर्नेछ।

मन्त्रालयले पहिलोपटक अनुमति माग गर्ने संस्थाले शाखा कार्यालय माग गर्न नपाउने तथा निर्णय प्रक्रियामा रहेका संस्थाको नाम परिवर्तन गर्न नसकिने स्पष्ट पारेको छ। आवेदनसम्बन्धी समस्या भए मन्त्रालयको ०१–६६३०२७६ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोली आयोजक जापानसँग सोझो सेटमा पराजित भएको छ।

नागायोमा भएको खेलमा जापानले नेपाललाई ३-० को सेटमा हरायो। जापानले पहिलो सेट २५-८, दोस्रो २५-१२ र तेस्रो सेट २५-११ ले जित्दै सहज जित निकालेको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै रहेको छ। अब नेपालले समूह चरणको दोस्रो खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाएको हो। यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपाल ११औँ स्थानमा रहेको थियो।

एसियाली खेलकुदको महिला भलिबलमा १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।