
बुटवल । रुपन्देही सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा सञ्चालित ‘दोस्रो रुपन्देही जिल्ला स्तरीय सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिता-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
बुटवल-५ स्थित हाटबजारमा रहेको जिल्ला खेलकुद विकास समितिको सभाहलमा भाद्र २७ र २८ गते सञ्चालन भएको दुई दिने प्रतियोगिताको उपाधि (टिम च्याम्पियन) देवदह नगरपालिकाको चरङ्गे सिएच आईटीएफ तेक्वान्दो डोजाङले जितेको छ। चरङ्गेले कुल ९ वटा स्वर्ण पदक हासिल गर्दै टिम च्याम्पियन बन्न सफल भएको हो।
प्रतियोगितामा ८ वटा स्वर्ण पदक जित्दै सिद्धार्थ नगरपालिकाको भैरहवा सिएच आईटीएफ तेक्वान्दो डोजाङ ‘फस्ट रनर अप’ भयो भने ७ वटा स्वर्ण पदकका साथ बुटवल उपमहानगरपालिकाको असन सिएच आईटीएफ तेक्वान्दो डोजाङ ‘सेकेन्ड रनर अप’ बन्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महिलातर्फ चराङ्गे डोजाङकी जिन्दिया घर्ती मगर ‘बेष्ट प्लेयर’ घोषित भइन्। त्यसैगरी पुरुषतर्फ भैरहवा डोजाङका सत्यम गुप्ता उत्कृष्ट खेलाडी बन्न सफल भए।
रुपन्देही सिएच आईटीएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष बोम बुढा मगरको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताको सञ्चालन नेपाल सिएच आईटीएफका केन्द्रीय सदस्य अनुप बुढा मगरले गरेका थिए।
असोज २७ गते बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकालको प्रमुख आतिथ्यतामा भएको थियो। असोज २८ गते आयोजित समापन समारोहमा नेपाल सिएच आईटीएफका केन्द्रीय सदस्य अमित थापा प्रमुख अतिथिका रूपमा सहभागी भई विजयी खेलाडी तथा टोलीहरूलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगितामा जिल्लाका ६ वटा प्रमुख डोजाङहरू चरङ्गे (देवदह), भैरहवा (सिद्धार्थ), असन (बुटवल), प्रगति (बुटवल), जनज्योति (तिलोत्तमा) र कञ्चन (कञ्चन गाउँपालिका) का गरी कुल २०० जना खेलाडीहरूको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो।





