२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

रोल्पा । सहिद प्रतिष्ठान नेपाल परिवर्तन उपशाखा, रोल्पाको नवनिर्मित भवन उद्घाटन तथा ‘परिवर्तनका संवाहक इतिहासका अमर पानाहरु’ पुस्तक विमोचन कार्यक्रम रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका, पुतलाचौरमा शुक्रबार सम्पन्न भएको छ।  

सहिदहरुको योगदान, त्याग र बलिदानलाई स्मरण गर्दै आयोजित कार्यक्रममा सहिदहरुको सम्झनामा मौनधारण, रिबन काट्ने, दीप प्रज्वलन तथा प्रमुख अतिथिबाट ब्यानर वाचन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमको सञ्चालन कर्ण बुढाले गर्नुभएको थियो भने अध्यक्षता निमकान्त डाँगीले गर्नुभएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान रोल्पा जिल्ला समन्वय प्रमुख राजबहादुर बुढा ‘अविनाश’ रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा सहिद प्रतिष्ठान रोल्पा जिल्ला अध्यक्ष आसबहादुर पुन ‘रक्तिम’, परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा ‘थमन’, उपाध्यक्ष कलादेवी खत्री तथा निवर्तमान उपाध्यक्ष हितकुमारी बुढा सहभागी हुनुभएको थियो। 

कार्यक्रममा परिवर्तन गाउँपालिका वडा नं. १ का अध्यक्ष मैते बुढा मगर, वडा नं. २ का अध्यक्ष हरिप्रसाद बुढा मगर, वडा नं. ४ का अध्यक्ष मानसिङ बुढा, वडा नं. ५ का अध्यक्ष दिलबहादुर वलीलगायत पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, पत्रकार, सहिद परिवार र भवन निर्माण व्यवसायीको समेत उपस्थिति रहेको थियो।

सहिद प्रतिष्ठान रोल्पा जिल्ला अध्यक्ष आसबहादुर पुन ‘रक्तिम’ले प्रतिष्ठानको भवन केवल ढुङ्गा, माटो र कंक्रिटबाट बनेको भौतिक संरचना मात्र नभई सहिदहरुको योगदान र बलिदानको प्रतिमूर्तिका रूपमा रहेको बताउनुभयो। भवनलाई आगामी दिनमा थप व्यवस्थित गर्दै सहिदहरुको तस्बिर, पुस्तक तथा ऐतिहासिक सामग्री राखेर अध्ययन तथा स्मरणको केन्द्रका रूपमा विकास गरिने उहाँको भनाइ थियो। 

त्यसैगरी, ‘परिवर्तनका संवाहक इतिहासका अमर पानाहरु’ पुस्तकले १० वर्षे जनयुद्धका क्रममा वीरगति प्राप्त सहिदहरुको योगदान र संक्षिप्त जीवनीलाई दस्तावेजका रूपमा समेटेको जनाइएको छ। सहिदहरुको त्याग, योगदान र बलिदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताइएको छ। 

कार्यक्रमका प्रमुख अतिथि राजबहादुर बुढा ‘अविनाश’ले विगत र वर्तमान अवस्थाबीच तुलना गर्दै देश आजको अवस्थामा आइपुग्नुमा सहिदहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। देश निर्माणका लागि आफ्नो सम्पूर्ण जीवन र भविष्य त्याग गर्ने सहिदहरुको योगदानलाई कसैले पनि बिर्सन नहुने उहाँको भनाइ थियो। सहिदहरुको योगदान र जनयुद्धका उपलब्धिलाई संस्थागत गर्न यस्ता दस्तावेज महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो। 

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा ‘थमन’ले सबैको साथ, सहयोग र सहकार्यबाट प्रतिष्ठानको भवन निर्माण सम्भव भएको बताउनुभयो। उहाँले कार्यसम्पादनका आधारमा परिवर्तन गाउँपालिका रोल्पा जिल्लामै उत्कृष्ट स्थानीय तहका रूपमा अघि बढिरहेको दाबी गर्नुभयो। पालिकाको विशेष सहयोगमा आफ्ना सहिदहरुको योगदानलाई पुस्तकमा समेट्न सफल भएको भन्दै उहाँले पालिकावासी, पुस्तक संकलक अमरदास पुन तथा प्रकाशक अमर सञ्चार गृह प्रा।लि।प्रति धन्यवाद व्यक्त गर्नुभयो। 

पुस्तकका संकलक अमरदास पुनले तथ्यांक संकलनदेखि पुस्तक प्रकाशनसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सहिदहरुको योगदानलाई इतिहासमा सुरक्षित राख्ने तथा भावी पुस्तालाई त्यसबारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउनुभयो। 

कार्यक्रमको समापन गर्दै अध्यक्ष निमकान्त डाँगीले सहिदहरुको योगदान, मार्गदर्शन र अधुरा सपनाहरु पूरा गर्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बताउनुभयो। सहिदहरुले देखाएको बाटो र योगदानलाई आत्मसात गर्दै समग्र जनसमुदाय एकढिक्का भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। 

सम्पूर्ण अतिथि, सहभागी तथा सहयोगीप्रति विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।