२०८३ भाद्र १५ सोमबार
२०८३ भाद्र १५ सोमबार

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) को अध्यक्ष तथा सदस्य पदका लागि आवेदन खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिलाई दरखास्त पेश गर्न आह्वान गरेको हो।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार प्राधिकरणको अध्यक्ष पदमा एक जना तथा सदस्य पदमा चार जना नियुक्त गरिनेछ। इच्छुक उम्मेदवारले २०८३ साल फागुन ५ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, आवेदन फाराम तथा संलग्न गर्नुपर्ने कागजात सम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराएको जनाएको छ।

यसैगरी, सञ्चार मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि समेत आवेदन खुला गरेको छ। उक्त पदमा एक जना नियुक्त गरिनेछ।

सरकारले सूचना तथा सञ्चार क्षेत्रको नियामक निकायमा नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको भन्दै यसलाई दूरसञ्चार क्षेत्र सुधार र नीतिगत कार्यान्वयनसँग जोडेर हेरिएको छ।

काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहले नेपाल र साउदी अरेबियाबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध समयसँगै अझ प्रगाढ बन्दै गएको उल्लेख गरेका छन् । उनले हज यात्राले दुई देशबीचको आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, राजदूत आजमी मिनिकिरले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक कर्तव्य भएको उल्लेख गर्दै नेपाली मुस्लिम समुदायप्रति शुभेच्छा व्यक्त गरेका छन् । उनले हज यात्रामा सहभागी सबै नेपाली तीर्थयात्रीहरूको यात्रा सफल, सुरक्षित तथा मङ्गलमय होस् भन्ने कामना गरे ।

कार्यक्रममा सहभागी हज यात्रीहरू, धार्मिक अगुवा तथा सम्बन्धित निकायका प्रतिनिधिहरू उपस्थित रहेका थिए । 

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले शुक्रबार नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्नुभएको छ ।

कार्यक्रममा उहाँले समसामयिक विषयमा छलफल गर्दै प्रहरी संगठनको सुदृढीकरण, व्यावसायिकता र नागरिकप्रतिको जवाफदेहितामा सञ्चारकर्मीहरूको सुझाव महत्वपूर्ण रहेको बताउनुभयो । साथै विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा नव वर्ष २०८३ को शुभकामना आदान–प्रदानका साथै विशेष कार्यदलद्वारा आईए ड्रिल, हतियार खोल–जोड तथा बन्धक उद्धारको नमुना अभ्यास प्रदर्शन गरिएको थियो । विपद् प्रतिकार्य तथा तालिम केन्द्रले अग्नि नियन्त्रण, उद्धार अभ्यास र विपद् तयारी सम्बन्धी जानकारी समेत प्रस्तुत गरेको थियो ।

काठमाडौं । नेपालमा आज ७४औँ कानुन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा सर्वोच्च अदालतले शुभकामना सन्देश जारी गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकामार्फत विधिको शासन तथा सामाजिक न्याय सुनिश्चित गर्न न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लद्वारा जारी शुभकामना सन्देशमा नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्ण कार्यान्वयनतर्फ न्यायपालिका निरन्तर अग्रसर रहेको उल्लेख गरिएको छ।

सन्देशमा न्यायपालिकाले विगत केही वर्षदेखि रणनीतिक योजनामार्फत न्यायिक सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी, प्रविधिमैत्री र जनआस्थामा आधारित बनाउने प्रयास जारी रहेको जनाइएको छ।

सर्वोच्च अदालतले आर्थिक वर्ष २०८१/०८२ मा न्यायिक सुधार योजनाका केही सकारात्मक उपलब्धि हासिल भएको पनि उल्लेख गरेको छ। न्यायपालिकाको संस्थागत सुदृढीकरण, सूचना प्रविधिको विस्तार तथा सेवा प्रवाह सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ।

न्यायपालिकामा गरिने सुधार केवल न्यायपालिकाको मात्रै विषय नभई राज्यका सबै अंगको साझा जिम्मेवारी भएको सन्देशमा उल्लेख गरिएको छ। न्यायिक सुधार र सुशासनका लागि न्यायाधीश, सरकारी वकिल, कानुन व्यवसायी, कर्मचारी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कामु प्रधानन्यायाधीश मल्लले बताएकी छन्।

नेपालमा २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ। उक्त ऐनमार्फत नेपालमा स्वतन्त्र न्यायपालिकाको संस्थागत सुरुआत भएको मानिन्छ।

यस वर्ष पनि सर्वोच्च अदालत परिसरमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा न्याय क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व, न्यायाधीश, कानुन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार विशेषगरी पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही स्थानमा असिनापानी पर्ने सम्भावना पनि रहेकाे छ।

लुम्बिनी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मौसम थप प्रभावित हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रका केही स्थानमा पनि साँझतिर मौसम बदली भई पानी पर्ने अनुमान गरिएको छ।

मौसमविद्का अनुसार पश्चिमी वायु तथा स्थानीय वायुसँगै विकसित भइरहेको मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली र वर्षाको अवस्था बनेको हो।

विभागले चट्याङ, हावाहुरी तथा वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी कृषक, यात्रु तथा खुला स्थानमा काम गर्नेहरूलाई सावधानी अपनाउन सुझाव दिइएको छ।

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा दिउँसोपछि मौसम थप बदली हुने र केही क्षेत्रमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद्ले आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा नजान र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेका छन्।

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा ‘मिडिया मन्थन’ सुरु हुँदैछ। बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ।

महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेका अनुसार सम्मेलनमा देशभरका विभिन्न जिल्लाबाट महासंघका प्रतिनिधि, केन्द्रीय पदाधिकारी, पत्रकार सम्बद्ध संघ–संस्थाका नेतृत्वकर्ता तथा राष्ट्रिय र मोफसलका सञ्चार माध्यममा लामो अनुभव भएका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

सम्मेलनमा रुपन्देही बाहिरबाट मात्रै एक सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ भने स्थानीय पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित करिब तीन सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ।

महासंघका सचिव सीपी खनालका अनुसार सम्मेलनमा सञ्चार, राजनीति, अर्थतन्त्र, पर्यटन तथा डिजिटल मिडियासँग सम्बन्धित ९ वटा विषयमा समूहगत छलफल (प्यानल डिस्कसन) गरिनेछ। पहिलो दिन तीन वटा र दोस्रो दिन छ वटा विषयमा छलफल तय गरिएको छ।

सोमबार देशभरबाट आएका प्रतिनिधिहरूबीच प्रदेशगत रूपमा पत्रकारिताको विगत, वर्तमान र भविष्यका चुनौती तथा अवसरबारे छलफल गरिनेछ। त्यसपछि बुटवल घोषणापत्र’ जारी गर्दै सम्मेलन समापन गरिने आयोजकले जनाएको छ।

काठमाडौं । पछिल्ला केही सातादेखि पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती र धरानका मेयर हर्क साम्पाङबीच सम्भावित राजनीतिक सहकार्यको चर्चा तीव्र बनेको छ। विशेषगरी हर्क साम्पाङ नेतृत्वको “श्रम संस्कृति पार्टी” सँग सुदन किराती नजिकिएको भन्ने समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस चुलिएको हो।

समर्थकहरूले सुदन किरातीको राजनीतिक अनुभव, संगठन निर्माण क्षमता र राष्ट्रिय पहुँचले हर्क साम्पाङको अभियानलाई थप मजबुत बनाउन सक्ने बताएका छन्।

अर्कोतर्फ केहीले भने हर्क साम्पाङको स्वतन्त्र र वैकल्पिक राजनीतिक छवि कमजोर हुन सक्ने टिप्पणी गरेका छन्। “पुराना दलका नेतासँग नजिकिँदा हर्कको मौलिकता हराउन सक्छ,” भन्ने धारणा सामाजिक सञ्जालमा देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार हर्क साम्पाङसँग जनस्तरको उत्साह र अभियानमुखी छवि रहेको छ भने सुदन किरातीसँग संसदीय अनुभव र राजनीतिक नेटवर्कको बल छ। यी दुईबीच सहकार्य भए नयाँ राजनीतिक शक्ति निर्माणको प्रयास बलियो हुन सक्ने आकलन गरिएको छ।

यद्यपि शक्ति बाँडफाँट, विचारधारा र नेतृत्व व्यवस्थापनजस्ता विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।