
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।
मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
त्यसअघि वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको थियो । आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।
आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १-१ विकेट लिए । नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो ।
“आउनुहोस्, परदेशमा पनि आफ्नो संस्कृति जोगाऔँ, एकता बढाऔँ र तीजलाई भव्य रूपमा मनाऔँ।”
ऊटी, भारत। प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा र आपसी एकतालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भारतको ऊटीमा ‘प्रवासी सुदूरपश्चिमेली तीज विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी १४ सेप्टेम्बर २०२६ मा ऊटीस्थित श्रीनिवास वरुमन तिरुमण मण्डपम्, महेन्द्र शोरूम नजिक, एटीसी रोड, ऊटीमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन कुनै प्रवेश शुल्क नलाग्ने जनाइएको छ।
ऊटीमा रहेका नेपाली तथा सुदूरपश्चिमेली समुदायलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रममा तीजका मौलिक गीत–संगीत, नृत्य, देउडा तथा सुदूरपश्चिमको कला र संस्कृतिसँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।
परदेशमा रहे पनि आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्दै नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यक्रमका आयोजक तथा सञ्चालक योगेन्द्र रानाले ऊटीमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा सुदूरपश्चिमेली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
त्यसैगरी, कार्यक्रमको सूचना फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत व्यापक रूपमा शेयर गरी धेरैभन्दा धेरै नेपाली समुदायसम्म पुर्याउन आयोजकले आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि 7200763324, 9443247518 र 6382391479 मा सम्पर्क गर्न सकिनेछ।
आयोजकले प्रवासमा पनि नेपाली संस्कृति, परम्परा र एकताको संरक्षण गर्दै तीज पर्वलाई भव्य रूपमा मनाउन सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।





