
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले गर्नुपर्ने भए पनि सरकार त्यसमा असफल भएको आरोप लगाएका छन्।
बस्नेतले सरकारले प्राप्त नगद तथा अन्य स्रोत–साधन केन्द्रीकृत गरेर राखेको तर विपद्मा परेका नागरिकहरू राहत र उद्धारका लागि हारगुहार गरिरहेको बताएका छन्।
विदेशी सहयोग नलिने तथा प्रदेश र स्थानीय सरकारलाई समेत दोष दिने प्रवृत्ति देखिएको भन्दै उनले आपत्ति जनाएका छन्। राहत तथा सहयोग लिएर पीडितसमक्ष पुग्न खोज्ने स्वयंसेवक र दातालाई समेत बाटोमै रोक्ने तथा राहत सामग्री हडप्ने अवस्था देखिएको उनको आरोप छ।
सत्तारूढ दलले बोलाएको सर्वदलीय बैठकमा विभिन्न दल सहभागी भएर सुझाव दिए पनि सरकार र सत्तारूढ दलबीच आवश्यक समन्वय हुन नसकेको बस्नेतको भनाइ छ। उनले सरकार र सत्तारूढ दलबीच छलफलसमेत प्रभावकारी रूपमा हुन नसकेको दाबी गरेका छन्।
उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि लागू गरिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन नसकेको आरोप लगाउँदै सम्बन्धित सबै पक्षलाई मिलेर विपद्मा परेका नागरिकको सहयोगमा जुट्न आग्रह गरेका छन्।
बस्नेतले महाविपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राहत, उद्धार र पुनःस्थापनाको पवित्र कार्यमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । आन्तरिक राजस्व विभागले रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीपहिरोका कारण आज भदौ १६ गते हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा स्थगित गरेको छ।
विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट आगामी असोज १ गते गरिनेछ। उक्त दिन भदौ महिनाभरका खरिद बीजकका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ।
बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिठ्ठा खोलिँदै आएको थियो ।
बिल–बीजक लिने संस्कृतिको विकास गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
सरकारले साउन महिनामा दुईपटक चिठ्ठा खोलेको थियो । त्यसबाट दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए । २५ प्रतिशत आकस्मिक लाभकर कटौतीपछि बम्पर विजेताले जनही ७ लाख ५० हजार रुपैयाँ तथा अन्य विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो ।
फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १२१ महिला, १९८ पुरूष र ३६५ नखुलेको गरी जम्मा ६८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको र पहिचान नभएको ८६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जानकारी प्रहरीले दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको, बाढी प्रभावित क्षेत्रहरूबाट ४ हजार ५३० जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ६०६ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४५३ जना व्यक्तिहरूलाई राखिएको छ । जसमध्ये नुवाकोटमा २ हजार ४६६ जना, धादिङमा २६० जना, रसुवामा ३९८ जना र काठमाडौंमा ३२९ जना रहेका छन् ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।
बाढी प्रभावित क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधान गर्नुका साथै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा प्रहरी टोली खटाइएको हो।
परिचालन गरिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना रहेका छन्।
त्यसैगरी, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ र प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। केन्द्रमार्फत उद्धार, सुरक्षा तथा राहतसम्बन्धी कार्यको समन्वय भइरहेको छ।
यसैगरी, विपद्सँग सम्बन्धित सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको छ।
प्रहरीले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिँदै नागरिकको सुरक्षा र राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर परिचालनलाई निरन्तरता दिएको जनाएको छ।
पाल्पा । पाल्पामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भदौ १४ गते साँझ करिब ७ः५५ बजे दोभानबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०७१ नम्बरको ईभी हाइस चेकजाँच गर्ने क्रममा उक्त सवारीमा सवार तीन जनाको साथबाट लागूऔषध फेला परेको थियो।
पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेका २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट Nitrazepam २५ ट्याब्लेटका तीन पत्ता तथा खुला अवस्थामा ६ ट्याब्लेट फेला पारेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पा । तानसेन नगरपालिकाले नगरको पहिचान, इतिहास, धर्म, संस्कृति तथा प्राकृतिक र भौगोलिक विशेषता समेटिएको नगरगान रचना गर्न इच्छुक नेपाली नागरिकलाई आह्वान गरेको छ। तानसेन नगरपालिका नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै नगरगान तयार गर्न इच्छुक सबै नेपाली नागरिकलाई नगरपालिकाले तोकेका आधारमा नगरगान रचना गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा पेश गर्न आग्रह गरेको हो।
नगरपालिकाका अनुसार नगरगानमा तानसेन नगरपालिकाप्रति सम्मान, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, आर्थिक तथा समय पहिचान झल्किने विषयवस्तु समेटिनुपर्नेछ। नगरपालिकाले नगरगानको शब्द रचनाका लागि केही आधारसमेत तोकेको छ। नगरगानको शब्द संख्या बढीमा ५० शब्दसम्म हुनुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी छनोट हुने उत्कृष्ट नगरगानका लागि तानसेन नगरपालिकाबाट ५० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरपालिकाले इच्छुक व्यक्तिहरूलाई निर्धारित समयभित्र आफ्नो रचना पेश गर्न आग्रह गरेको छ। नगरपालिकाको निर्णयअनुसार नगरगान छनोट गरिने जनाइएको छ।





