
काठमाडौं। द ब्रिटिस मोडल कलेज (BMC) का पाँच विद्यार्थी—आर्या द ब्रिटिस मोडल कलेज (BMC) का पाँच विद्यार्थी—आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड (DoEIA)’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन्।
उनीहरूलाई द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपाल द्वारा आयोजित नेशनल अवार्ड सेरेमोनी २०२६ मा औपचारिक रूपमा सम्मान गरिएको हो। उक्त समारोह २०८३ श्रावण ४ गते सोमबार, काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो। कार्यक्रममा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड विश्वव्यापी रूपमा मान्यता प्राप्त युवा विकास कार्यक्रम हो, जसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक यात्रामार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ। ब्रोंज अवार्ड सहभागीहरूको निरन्तर मेहनत, अनुशासन र व्यक्तिगत विकासको यात्रामा हासिल भएको महत्वपूर्ण उपलब्धि मानिन्छ।
यस उपलब्धिका लागि विद्यार्थीहरूलाई बधाई दिँदै BEG बोर्ड तथा BMC कलेज व्यवस्थापनका तर्फबाट अरुणले भन्नुभयो,
“तपाईंहरूको मेहनत, समर्पण र प्रतिबद्धताले हामी सबैलाई गौरवान्वित बनाएको छ। तपाईंहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरूमा पनि तपाईंहरूले अझ धेरै सफलता हासिल गर्नुहोस् भन्ने हाम्रो शुभकामना छ।“
कलेजले विद्यार्थीहरूलाई यस उपलब्धिसम्म पुग्न आवश्यक मार्गदर्शन र निरन्तर साथ दिनुभएका श्री राजन कुमार राईप्रति कलेजले विशेष आभार व्यक्त गरेको छ।
द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिमा मात्र सीमित नरही द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड जस्ता सहपाठ्यक्रम तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम तथा समाजप्रति उत्तरदायी भावी नेतृत्व निर्माणमा योगदान पुर्याइरहेको छ।

द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबारे: द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने आत्मविकास कार्यक्रम हो। यस्ता सहपाठ्यक्रम तथा नेतृत्व विकासका कार्यक्रममार्फत विद्यार्थीहरूलाई आत्मविश्वासी, सक्षम र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न कलेजले निरन्तर प्रोत्साहन गर्दै आएको छ।
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका २१ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका सरोज चौधरी रहेका छन्। बिहीबार बिहान करिब ७:०० बजे उनी आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना मणिग्रामस्थित क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो।
घाइते सरोजलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको थियो। उपचारकै क्रममा साँझ ४:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्न पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भने घटना दुर्घटना नभई घरायसी विवादका क्रममा सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको जनाएको छ।
प्रहरीले सहसराम चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत विभिन्न मुद्दाका ७ हजार २५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट ४८ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट १ हजार २३२ जना, कोशी प्रदेशबाट ९६० जना, मधेश प्रदेशबाट २ हजार ११७ जना, बागमती प्रदेशबाट ७६० जना, गण्डकी प्रदेशबाट ४५२ जना, लुम्बिनी प्रदेशबाट १ हजार १८१ जना, कर्णाली प्रदेशबाट १८७ जना तथा सुदूरपश्चिम प्रदेशबाट ३१४ जना रहेका छन्।
उक्त अवधिमा पक्राउ परेका प्रतिवादीमाथि तोकिएको २ हजार ९३६ वर्ष ४ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट ७२ करोड ४७ लाख १२ हजार ४३ रुपैयाँ जरिवाना असुल गरिएको छ।
नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा र सुव्यवस्था कायम राख्न तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको प्रहरीले उल्लेख गरेको छ।
मुगु । नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका–६ साेरुकाेट तथा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नं. ५ कवाडी क्षेत्रमा फोरजी (4G) मोबाइल सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै ती दुर्गम क्षेत्रका स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट तथा गुणस्तरीय सञ्चार सेवाको पहुँच पाउने भएका छन्।
सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले आधुनिक दूरसञ्चार सेवाले शिक्षा, स्वास्थ्य, व्यापार तथा समग्र सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
नेपाल टेलिकमका अनुसार नयाँ फोरजी सेवामार्फत भ्वाइस, डाटा तथा अन्य मोबाइल सेवा प्रभावकारी रूपमा उपलब्ध हुनेछन्। कम्पनीले देशभरका दुर्गम तथा पहुँचभन्दा टाढाका क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।




