
दैलेख। दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा बिहीबार कर्णाली नदीमा खसेको गाडी अझै फेला पर्न सकेको छैन। दुर्घटनामा परेको कर्णाली प्रदेश ०२१ ख १०५५ नम्बरको फोर्स गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको थियो।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रु तथा गाडीको खोजी कार्य भने शुक्रबार साँझसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
हाल सशस्त्र प्रहरी बलका ६ जना गोताखोर, नेपाली सेना र नेपाल प्रहरी को संयुक्त टोलीले कर्णाली नदीमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार विभिन्न सरोकारवाला निकाय, आफन्तजन, यातायात समितिहरू तथा सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरणका आधारमा गाडीमा सिर्जना खड्का (रास्कोट-२), जोखे तिरुवा (पचालझरना-९), मेखे तिरुवा (पचालझरना-९), रामु सुवेदी (सुर्खेत), तुलाराम सुवेदी (सुर्खेत) सवार रहेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दुर्घटनासम्बन्धी कुनै पनि भरपर्दो सूचना वा जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको जनाएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
कालिकाेट। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारहरुलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालिकोट जिल्लाका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप स्ट्याण्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरुलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरुको दैनिक जीवनयापनमा केही राहत पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दुर्गम क्षेत्रका विपन्न तथा विपद् प्रभावित परिवारसम्म राहत सामग्री पुर्याउने कार्यमा स्थानीय निकाय तथा सम्बन्धित संस्थाको समेत समन्वय रहेको थियो ।
राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर श्री राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो । उहाँले वितरण कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थान तथा समुदायमुखी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै समाजप्रति आफ्नो दायित्वलाई निरन्तर निर्वाह गर्दै आएको छ । आगामी दिनहरुमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।
राेल्पा। परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम यस पालिका अन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक/शिक्षिकाहरू, टोल विकास समिति तथा जेहेन्दार विद्यार्थीहरूलाई उहाँहरूको उत्कृष्ट कार्यदक्षताको उच्च कदर गर्दै सम्मान तथा पुरस्कार वितरण गरिएको छ।
बिहीबार गाउँपालिकाका अध्यक्ष श्री सुक बहादुर बुढामगरकाे अध्यक्षतामा आयोजित एक विशेष गरिमामय समारोहका बीच उक्त सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री कलादेवी खत्रीनी तथा प्रमुख प्रशासकीय अधिकृत श्री निम बहादुर के.सी. ले सम्मानित एवं पुरस्कृत हुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, शिक्षक, टोल विकास समितिका प्रतिनिधि र विद्यार्थीहरूलाई माल्यार्पण गर्नुका साथै कदरपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो।
सो अवसरमा गाउँपालिकाका तर्फबाट बोल्दै गाउँपालिकाका अध्यक्ष श्री सुक बहादुर बुढामगरले सम्मानित व्यक्तित्वहरूको अथक प्रयास, अहोरात्र मेहनत र कार्यदक्षताप्रति गाउँपालिका परिवारको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस सम्मानले आगामी दिनमा कार्यक्षेत्रमा अझ बढी जिम्मेवार, लगनशील र उत्प्रेरित भएर लाग्न ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी, गाउँपालिकाले आगामी दिनहरूमा पालिका भित्रका अन्य कर्मचारी, शिक्षक/शिक्षिका, टोल विकास समिति तथा विद्यार्थीहरूको भूमिका र योगदानलाई समेत अझ परिमार्जित र सुदृढ प्रक्रियाबाट उच्च मूल्याङ्कन गर्दै लगिने प्रतिबद्धता समेत जनाएको छ।




