२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

महेन्द्रले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कैलाली । आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । 

घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको अभियोगमा ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा माउण्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष काठमाडौं टोखा नगरपालिका-८ धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-१ घर भएका ४७ वर्षीय जयराम रिमाल ‍तथा सोही प्रालिका मेनेजर चितवन राप्ती नगरपालिका-५ घर भएका ३२ वर्षीय विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-९ बस्ने ४२ वर्षीय मुक्ति पाण्डे तथा सोही प्रालिका अपरेशन डिपार्टमेन्ट प्रमुख सोही नगरपालिका-९ बस्ने ४६ वर्षीय सुवास केसी र नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ३९ वर्षीय रबिन्द्र अधिकारी तथा सोही प्रालिका अपरेशन मेनेजर काठमाडौं महानगरपालिका-१६ बस्ने ३९ वर्षीय विवेक थपलिया रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण कीर्ते गर्ने गरेको, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल समेतका कागजातहरू तयार गरी/गराई उद्दार गरिएको व्यक्तिको नामको बीमा रकमको झुठ्ठा दाबी गरेको खुल्न आएको छ ।

उनीहरू उपर राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरूमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चितवन । नवलपरासीपूर्वको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट एक ४ वर्षीया बालिकाको ज्यान गएको छ ।

नेपाल नमुना मावि केउरेनीको हाताभित्रै लु १ क ३८१४ नम्बरको बस घुमाउने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुष्माकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएलगत्तै घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएको थियो । तर, अस्पताल लगिए पनि चिकित्सकले बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

काठमाडाै‌ । गृह मन्त्रालयले नेपालकाे राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन  एक प्रेस विज्ञप्ति जारी गरेकाे छ । 

साे विज्ञप्तिमा निर्वाचन आचारस‌हितालाइ ध्यानमा राखेर प्रचारप्रसारकाे क्रममा १० वटा बढी राष्ट्रिय झण्डा  प्रयाेग गर्न नपाइने भएकाे छ । 

यसैगरी राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी राख्न, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न, व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टास्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतिक/चित्र राख्न, फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओहालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न निषेध गरिएको छ।

राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुन बमोजिम मात्र प्रयोग गर्न अन्यथा यसको दुरुपयोग भएको पाइए‌मा कानून बमोजिम कारबाही हुने व्यहोरा जारी विज्ञप्तिमा भनिएकाे छ । 

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ।

पहिलेदेखि नै उपलब्ध एनटी-एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध छन्।

नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरुका लागि प्याकेज (Package for Differently Able Person) तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरुका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरु समेत उपलब्ध छन्। त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि यथावत राखिएका छन्।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेज को रुपमा निरन्तरता दिइएको छ। यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरुले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ।

पहिले  *1415*2*4# डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप (नेपाल टेलिकम एप) तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था हुनेछ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याकेज मिति २०८२ माघ ११ गते देखि उपलब्ध छ र आगामी ९० दिनसम्म उपलब्ध हुनेछ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटwww.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।

मुम्बइ, भारत । भारतले आज आफ्नो ७७औं गणतन्त्र दिवस समारोहमा आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ ।

१९५० मा यसै दिन भारतको संविधान लागू भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, परेडमा हालै गठन गरिएका सैन्य एकाइहरूको प्रदर्शनका साथै अपरेशन सिन्दूरको समयमा तैनाथ गरिएका प्रमुख हतियार प्रणालीका मोडेलहरू समावेश हुनेछन् ।

गणतन्त्र दिवसकाे अवसरमा भारतभर आज विभिन्न कार्यक्रम हुने बताइएकाे छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज देशबासीका नाममा सम्बाेधन समेत गर्ने भएका छन् । 

चेन्नई, भारत । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन प्रवासी नेपाली जनसम्पर्क मञ्च भारतको आयोजनामा विशेष भेला तथा संगठन विस्तार कार्यक्रम भारतको तामिलनाडु राज्यको चेन्नईमा आईतबार सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भारत इन्चार्ज डोलराज भण्डारी र सह–इन्चार्ज दिपक आचार्यको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 उक्त कार्यक्रममा बोल्दै इन्चार्ज भण्डारीले आपसी सद्भाव, संगठन सुदृढीकरण तथा प्रवासी नेपालीहरुको एकता अभिवृद्धि गर्ने संगठनको उद्देश्य रहेको बताएका हुन् । प्रवासमा रहेका समस्या, समाधान र बैकल्पिक बाटोहरुको पनि चर्चा गर्दै यस संगठनको भावी कार्यदिशाको बारेमा बोल्दै प्रवास मात्र नभई स्वदेशमै पनि आम नागरिकले भोग्नु परेको समस्या, अस्थिर राजनीति र कुशल नेतृत्व नभएका कारणले देशले गति लिन नसकेको पनि बताएका थिए । 

देशमा एउटा स्थायी सरकार र सुनिश्चित मार्गदर्शन गर्नसक्ने पार्टीको आवस्यकता रहेको जिकिर गर्दै आगामी फाल्गुण २१ मा हुन गैरहेको प्रतिनिधी सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेर लैजान सह–इन्चार्ज आचार्यले जोड दिएका थिए । 
प्रवासी नेपाली जनसम्पर्क मंच भारतले अहिले सम्म भारतको विभिन्न ठाउँहरु मध्य १७ वटा राज्यहरुमा आफ्नो संगठन बिस्तार गरि सकेको र अझै विस्तार गर्ने क्रम जारी रहेको जनाएको  छ । 

सोहि कार्यक्रममा रास्वपाको तामिलनाडुका लागि एक समिति गठन भएको छ । नवगठित समितिको सभापतिमा शिखर रावल, महामन्त्री गोकुल शर्मा, सह–महामन्त्री यादव प्रसाद पाण्डेय, महिला उपाध्यक्ष तुलसा सापकोटा, सचिव तुलसीराम पौडेल, सह–सचिव चेतराज भट्टराई, कोषाध्यक्ष देव धामी, प्रवक्ता लक्ष्मण बि.सि. साथै सदस्यहरु तर्फ तिलक रोकाया, योगेन्द्र धामी, केशव रावल, कविराज बिष्ट, हेमन्त बुढा, करण खड्का, रामु पौडेल, अरिता शाही, शिवराज भण्डारी चयन भएका छन् ।

साेही कार्यक्रममा करिब २०० जति युवाहरुले कार्यक्रम स्थलबाटै पार्टी प्रवेश गरेको सो संगठनले जनाएको छ ।  

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।

कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।