काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सरकारले कहिल्यै एक्लो र अलपत्र नछोड्ने बताउनुभएको छ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले खोज तथा उद्धार कार्यमा अझै आशा कायम रहेको बताउनुभएको हो।
प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिंगो देशमा आशा जगाएको उल्लेख गर्नुभएको छ। उहाँले सरकार खोज तथा उद्धार कार्यमा निरन्तर डटेर लागिरहेको सन्देशसमेत यस घटनाले दिएको बताउनुभएको छ।



उहाँका अनुसार चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा उद्धार गरिसकिएको छ।
बाढीका क्रममा ज्येष्ठ नागरिकहरूले समेत असाधारण साहस प्रदर्शन गरेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। कतिपय आमाबुबाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको र लौरो नटेकी दुई पाइला सर्नसमेत कठिन हुने अवस्थामा आफ्ना सन्तान बचाउन अदम्य साहस देखाएको उहाँले उल्लेख गर्नुभएको छ।
बाढीका कारण वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
बाढीबाट प्रभावित नागरिकले भोग्नुपरेको पीडा र आघातप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफूहरूलाई एक्लो नठान्न आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौँ । हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।’


















