काठमाडौँ। कर्तव्य पालनाका क्रममा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका आश्रित परिवारलाई सशस्त्र प्रहरी बल नेपालले २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
सशस्त्र प्रहरीका अनुसार मृतकका परिवारलाई राष्ट्र सेवकका तर्फबाट १५ लाख, सम्बन्धित कार्यविधिअनुसार पाँच लाख र विपद् प्रकोप राहत कोषबाट पाँच लाख गरी कुल २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइनेछ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी हुन बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ। साथै, मृतकका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिइनेछ।



भोटेकोशी बाढीमा सशस्त्र प्रहरीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय पनि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिइने भएको छ।
त्यसैगरी, बाढीमा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख, घरबारविहीन भएमा एक लाख तथा आंशिक भौतिक क्षति भएका वा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ। टिमुरेस्थित बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट ज्यान जोगाउन सफल सशस्त्र प्रहरीको हकमा भने उक्त रकम कट्टा नगरिने जनाइएको छ।

















