उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्ति वनबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १ हजार १ सय २२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई सोमबार बिहान पक्राउ गरेको हो।


पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ वटा बोरामा रहेको गाँजा फेला पारेको थियो।
गाँजा बरामद गरेसँगै प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले बरामद गाँजा ओसारपसार तथा कारोबारमा उनीहरूको संलग्नताबारे अनुसन्धान गरिरहेको छ।












