काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क अल-नेट भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि विस्तार गरेको छ। एनसेलका अनुसार भोलि शनिबारदेखि लागू हुने गरी प्रभावित क्षेत्रका ग्राहकहरूले थप एक हप्तासम्म यी सेवाहरू निःशुल्क प्रयोग गर्न पाउनेछन्। विपद्को समयमा परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा अवधि बढाइएको एनसेलले जनाएको छ।


यसैबीच, बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। तीन जिल्लामा प्रभावित कुल २७ टावरमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा साइट पुनः सञ्चालनमा आएका हुन्।
बाँकी प्रभावित टावरहरू पनि पुनः सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक काम भइरहेको एनसेलले जनाएको छ। विपद्को कठिन अवस्थामा प्रभावित समुदायको साथमा रहँदै आवश्यकता अनुसार नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको एनसेलको भनाइ छ।














