भरतपुर । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएर ल्याएको मृतकको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा शवबाट मुन्द्रा निकाल्ने कार्यमा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्को समयमा पीडित तथा मृतकप्रति हुने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ।
भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन तथा पहिचानको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गरेको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
















