बेलायत । नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको बर्मिङ्घममा ‘बर्मिङ्घम तीज मेला २०२६’ आयोजना हुने भएको छ। शान्ति नेपाली समाज बेलायतको आयोजनामा आगामी १० अगस्ट २०२६, सोमबार West Bromwich Collegiate Academy, Kelvin Way, West Bromwich मा मेला आयोजना हुन लागेको हो। कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएकाे छ ।


मेलामा नेपाली मौलिक कला, संस्कृति र मनोरञ्जनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। कार्यक्रममा विष्णु खत्री, चन्द्र शर्मा, मेलिना राई, जमुना राना, रमेश राज भण्डारी, प्रोसेस पाण्डे, शोभा त्रिपाठी र सरिस्मा मगर लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।
त्यस्तै कार्यक्रममा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, सिग्नेचर नौमती बाजा, लाखे नाच, स्पुन रेस, पट ब्रेकिङ तथा वाइफ क्यारि रेस लगायतका मनोरञ्जनात्मक गतिविधि आयोजना गरिनेछ। साथै भलिबल प्रतियोगिता र बालबालिकाको फुटबल खेल समेत हुने जनाइएको छ।
आयोजकका अनुसार कार्यक्रम निःशुल्क प्रवेश सहित आयोजना हुनेछ। बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र आपसी भाइचारालाई अझ बलियो बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएकाे छ ।
कार्यक्रमलाइ सफल बनाउन बेलायत स्थित विभिन्न संघ-संस्थाकाे विशेष सहयाेग गर्ने आयोजक संस्था शान्ति नेपाली समाज बेलायतले जनाएकाे छ ।














