
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शङ्कास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधिले सञ्चारकर्मीमा त्रास सिर्जना गर्ने र प्रेस स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो।
हालै कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको मुख्य गेट अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीहरूलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ। घटनाबारे नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
यस विषयमा रास्वपाले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र पत्रकारलाई कुनै पनि प्रकारको दबाब, धम्की वा मनोवैज्ञानिक त्रासमा राख्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेको छ।
पार्टीले स्वतन्त्र र निर्भीक पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारले सुरक्षित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न पाउनुपर्नेमा जोड दिएको छ। साथै घटनाको निष्पक्ष छानबिन गरी संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गर्न सरकार र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।
रास्वपाले कुनै पनि बहानामा प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै सत्यतथ्यमा आधारित पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पाँचौँ पटक हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले उनलाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागकै पत्रका आधारमा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
पक्राउपछि विभागले विशेष अदालतबाट पटक-पटक म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइरहेको छ। यसअघि चार पटक म्याद थप भइसकेको थियो भने सोमबारको आदेशसँगै पाँचौँ पटक हिरासतको अवधि थपिएको हो।
विभागका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतबाट थप समय मागिएको हो। मुद्दासम्बन्धी थप अनुसन्धानपछि मात्रै आवश्यक कानुनी निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई काउन्सिलको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि अध्यादेश जारी भएपछि तत्कालीन अध्यक्षसहित पदाधिकारीहरू पदमुक्त भएका थिए। पत्रकारिता, तथ्यजाँच (फ्याक्ट–चेक) तथा डिजिटल अनुसन्धानका क्षेत्रमा सक्रिय श्रेष्ठ पछिल्लो समय नेपालफ्याक्टचेकका सम्पादकका रूपमा कार्यरत थिए।
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई पाँच वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनको शपथग्रहण सूचना तथा सञ्चार मन्त्रालयमा सम्पन्न हुने जनाइएको छ।
यसअघि सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएका थिए। त्यसयता घिमिरेले प्राधिकरणको निमित्त अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
घिमिरे नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण क्षेत्रमा कार्यरत थिए। उनले उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
अध्यादेश कार्यान्वयनमा आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २१ गते प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी तथा सदस्यहरू कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई पदमुक्त गरेको थियो।
रिक्त अध्यक्ष तथा सदस्य पदका लागि मन्त्रालयले वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। अध्यक्ष पदका लागि २९ जनाले आवेदन दिएका थिए। छनोट प्रक्रियाअन्तर्गत सिफारिस समितिले नौ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। त्यसपछि आठ जना उम्मेदवारले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागिता जनाएका थिए।
संक्षिप्त सूचीमा रहेका राजिब सुब्बाले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएपछि आफ्नो आवेदन फिर्ता लिएका थिए। अन्तिम प्रतिस्पर्धामा अर्जुन घिमिरे र अनिलकुमार झा प्रमुख दाबेदारका रूपमा हेरिएका थिए। अन्ततः सरकारले घिमिरेलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
मोरङ। नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यस शोरूमको औपचारिक उद्घाटन असार २५ गते बिहान १०ः०० बजे भव्य रूपमा सम्पन्न भएको हो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा आयोजित रिबन काट्ने समारोहसँगै स्थानीय ग्राहकहरूलाई नयाँ स्पेस अवलोकनका लागि आमन्त्रण गरिएको थियो ।
आकर्षक र ग्राहक-मैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ । शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।
“अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यस आसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने हाम्रो निरन्तर प्रयासको महत्त्वपूर्ण कदम हो । यस शोरूममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नुहुनेछ ।” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भन्नुभयो ।
यो नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा रूपमा सञ्चालनमा आइसकेको छ । कञ्चनबारी, मोरङ तथा यस आसपासका सम्पूर्ण बासिन्दाहरूलाई शोरूममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO 9001:2015 र ISO 14001:2015 प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award 2026 मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० + शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टायल्स (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०x४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।
सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबार पुनः अवरुद्ध भएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारीको इको क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि करिब दुई मिटर सडक भासिएको हो। लगातार वर्षा भइरहेका कारण माथिबाट लेदो बगिरहेको छ, जसले सडक मर्मत तथा खुलाउने कार्यमा कठिनाइ उत्पन्न गरेको प्रहरीले जनाएको छ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले भासिएको स्थानमा गिट्टी र माटो हालेर मर्मत गर्ने प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको छ।
वर्षायाममा यस क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या दोहोरिने गरेको स्थानीय प्रशासनले जनाएको छ। केही साना चारपांग्रे सवारीसाधन र मोटरसाइकललाई भने ठेलेर पहिरो क्षेत्र पार गराइएको छ।
सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गरी नेपालतर्फ आउँदै गरेका तथा नेपालबाट चीनतर्फ जाने मालवाहक कन्टेनरहरू बाटोमै रोकिएका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्रयास जारी राखेको जनाएको छ।




