
रुपन्देही । मायादेवी गाउँपालिकाले किसानहरूलाई लक्षित गर्दै “माटो परीक्षण तथा माटो सुधार कार्यक्रम” सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको कृषि शाखाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिने जनाएको हो।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका इच्छुक कृषकहरूले माटोको नमुना परीक्षण गराउन सक्नेछन्। परीक्षणपछि कृषकलाई माटोमा रहेका मुख्य तत्व, भौतिक पदार्थ, अम्लीयपन तथा माटोको बनावट सम्बन्धी विवरणसहितको नतिजा उपलब्ध गराइने कृषि शाखाले जनाएको छ।
सूचना अनुसार कार्यक्रमबाट २०० जना कृषक लाभान्वित हुनेछन्। सहभागी हुन चाहने कृषकहरूले ३ दिनभित्र कृषि विकास शाखामा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। साथै, कृषकहरूलाई माटोको नमुना संकलन सम्बन्धी छोटो तालिमसमेत प्रदान गरिनेछ।
गाउँपालिकाले माटो परीक्षण खर्च बाहेक अन्य खर्च कृषक स्वयंले व्यहोर्नुपर्ने जानकारी दिएको छ। कृषि उत्पादन वृद्धि र माटोको गुणस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई सोमबार राति करिब ८:१५ बजे ठक्कर दिएको हो ।
दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
सुनसरी। धरान उपमहानगरपालिका-१० बेलगाछी बस्ने २७ वर्षीय जिवन भुजेलको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जिवन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जिवनको विराट नर्सिङ होम विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रुपन्देही । रुपन्देही जिल्लाकाे तिलोत्तमामा विश्व बैंकको सहयोगमा निर्माण गरिएको मंगलापुर–बेबरा–कान्छीबजार सडक सञ्चालनमा आएको छ। करिब ७ किलोमिटर लम्बाइको उक्त सडक आधुनिक प्रविधि प्रयोग गरी निर्माण गरिएको हो।
नगरपालिकाका अनुसार सडक निर्माणमा कुल ५७ करोड ८२ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। परियोजना नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत सम्पन्न गरिएको हो।
सडकमा कालोपत्रे, दुवैतर्फ नाली, फुटपाथ, सडक बत्ती, ट्राफिक संकेत तथा शहरी सौन्दर्यीकरणका काम समावेश गरिएको छ। यसअघि साँघुरो रहेको सडकलाई विस्तार गरी ७.५ मिटर चौडा बनाइएको छ भने पैदल यात्रुका लागि फुटपाथ पनि निर्माण गरिएको छ।
नगरपालिकाले यो सडकले स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा सेवा प्रदायकलाई सहज आवागमनमा सहयोग पुग्ने जनाएको छ। धुलो र हिलोको समस्या कम हुने तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
परियोजनाको पहिलो खण्ड मंगलापुर–बेबरा सडक निर्माण शर्मा सगुन जेभीले गरेको हो भने दोस्रो खण्ड बेबरा–कान्छीबजार सडक आशिष–आशीर्वाद जेभीले निर्माण गरेको जनाएको छ।
आइतबार नगर प्रमुख रामकृष्ण खाँणले विश्व बैंक तथा शहरी विकास विभागका प्रतिनिधिहरूको उपस्थितिमा सडकको उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै उनले आधुनिक सडकले तिलोत्तमाको शहरी विकास र सुरक्षित यातायात व्यवस्थापनमा योगदान पुर्याउने बताए।
काठमाडाै । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङ, महोत्तरी, सुनसरी र बर्दियामा गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगर, खैरो हेरोइन, गाँजा तथा नियन्त्रित औषधिसहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार दाङ, कैलाली र कञ्चनपुरमा ब्राउनसुगर तथा खैरो हेरोइनसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने रौतहट र पर्सामा ट्रामाडोल, नाइट्राभेट र स्पास्मोजस्ता नियन्त्रित औषधिसहित पक्राउ गरिएको छ।
यस्तै झापा, मोरङ, महोत्तरी, सुनसरी र बर्दियामा पनि लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा एक किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका–९ स्थित दोदा नदीमा नुहाउन गएका पुनर्वास नगरपालिका–८ का १४ वर्षीय रोहित दौडे दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पुनर्वास टाउन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, बाजुरामा पनि खोलामा नुहाउन गएका एक बालक बेपत्ता भएका छन्। हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा साथीहरूसँग नुहाउने क्रममा १४ वर्षीय नवराज थापा बगेर बेपत्ता भएका हुन्।
स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।




