२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

विपद् प्रभावित क्षेत्रमा उद्धार तीव्र, १५ भन्दा बढी उडान सम्पन्न : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशले भोगिरहेको विपद्को घडीमा उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। उनले प्रभावित क्षेत्रमा यथाशीघ्र उद्धार तथा राहत पुर्‍याउन सरकार तीव्र गतिमा काम गरिरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको छ। बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान सम्पन्न भइसकेका छन् भने थप हेलिकोप्टरहरू उद्धारका लागि तयारी अवस्थामा राखिएका छन्।

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले जानकारी दिएका छन्।

विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री तीव्र रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिन लगायतका सामग्री पठाइँदैछ।

प्रधानमन्त्री शाहले छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताएका छन्। यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको उनले जानकारी दिएका छन्। ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी आवश्यक जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको र त्यसले उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रधानमन्त्री शाहको भनाइ छ।

उद्धारका क्रममा हेलिकोप्टरबाट सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने उनले बताएका छन्। प्रभावित नागरिकलाई धैर्य तथा संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

“यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्। आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले विपद्को यस कठिन घडीमा सहयोग र सहकार्य गर्ने नेपालभित्र तथा विश्वभर रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल  मार्फत् सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।