
चेन्नई (तमिलनाडु), भारत । नेपालका प्युठान नगरपालिका–२, बाहा क्यारी सेती खोला भकुण्डा निवासी ५२ वर्षीय खुईते सुनार भारतको तमिलनाडु राज्यमा रोजगारीका लागि आउँदै गर्दा सम्पर्कविहीन भएको घटनाले परिवार र आफन्त चिन्तित बनेका छन्।
परिवारका अनुसार खुईते सुनार जुलाई १५ मा नेपालबाट भारततर्फ प्रस्थान गरेका थिए। यात्रा क्रममा उत्तर प्रदेशको लखनउ क्षेत्रमा उनीसँग रहेको नगद रकम हराएको वा कसैले निकालेको आशंका गरिएको छ। त्यसपछि उनले चेन्नईमा रहेका आफ्ना छोरा सन्तोष सुनार लाई फोन गरी आर्थिक सहयोगका लागि पैसा पठाइदिन आग्रह गरेका थिए।

त्यसपछि उनी रेलमा चढे वा नचढेको भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। उनीसँगै यात्रा गरेका अन्य साथीहरू जुलाई १८ मा सकुशल चेन्नई पुगे पनि खुईते सुनार हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको जनाइएको छ।
यस घटनापछि उनका छोरा सन्तोष सुनारले भारतभर रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था तथा सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई खोजी कार्यमा सहयोग गरिदिन भावुक अपिल गरेका छन्। सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सूचना व्यापक रूपमा फैलाइदिन पनि आग्रह गरिएको छ।
यदि कसैले खुईते सुनार लाई देख्नुभएको, भेट्टाउनुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने कृपया तत्काल तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।
सम्पर्क:
सन्तोष सुनार: 9789319381
एम.बी. साउद: 9940400835
सम्बन्धित सबैलाई यो सूचना सक्दो धेरै साझा गरी खोजी कार्यमा सहयोग पुर्याइदिन अनुरोध गरिएको छ।
काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको यौन अपराधसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।
अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएका कुम्ब्सलाई सन् २०२५ को सेप्टेम्बरमा अमेरिकी कानुन प्रवर्तन निकायले पक्राउ गरेको थियो। उनी त्यसयता हिरासतमै रहेका छन्। उनीविरुद्ध आगामी अक्टोबर २८ मा सजाय निर्धारण हुने जनाइएको छ।
नेपालमा बालबालिकाको यौन शोषण गर्न संगठित गिरोह सक्रिय रहेको सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा दुर्गम क्षेत्रका बालबालिकालाई काठमाडौं ल्याई विदेशी बालयौन दुराचारीहरूसँग सम्पर्क गराइने सञ्जाल सञ्चालन भएको खुलेको थियो।
यसै क्रममा २०७३ भदौ २४ गते काठमाडौंको ठमेलस्थित याम्बु होटलबाट सीआईबीले कुम्ब्सलाई पक्राउ गरेको थियो। घटनामा सहयोग गरेको आरोपमा काठमाडौं स्वयम्भूका बुद्ध पुतवार (लुच्चे) लाई पनि प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते गरेको फैसलाअनुसार कुम्ब्सलाई ९ वर्ष कैद सजाय र पुतवारलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।
अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपालमा बसोबासका क्रममा होटलमा कम्तीमा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए। यौन शोषणका लागि उनले बल प्रयोग गर्ने, जबरजस्ती लागूऔषध सेवन गराउने तथा पैसाको प्रलोभन देखाउने जस्ता उपाय अपनाएको अभियोगमा उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकाका तस्वीरहरू समेत बरामद भएको अमेरिकी न्याय विभागले जनाएको छ।
उक्त अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय तथा गैरसरकारी संस्था नयाँ पाइला ले सहयोग गरेको अमेरिकी न्याय विभागले जनाएको छ।




